काठमाडौं । ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्ना नृत्य र अभिनय यात्राका गुरुहरूको सम्मानस्वरूप स्थापना गरेको विभिन्न विधाका सम्मान यस वर्षका स्रष्टाहरूलाई प्रदान गरिएको छ।
गुरु पूर्णिमाको अवसर पारेर बुधबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा ती सम्मान प्रदान गरिएको हो। कार्यक्रम प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
यस वर्ष हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान–२०८३ सुप्रशिद्ध हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई प्रदान गरिएको छ। गोपाल योञ्जन संगीत साधना सम्मान–२०८३ गायक तथा संगीतकार डा. किरण प्रधानले प्राप्त गरे।
त्यस्तै, राजपाल थापा नृत्य साधना सम्मान–२०८३ नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई प्रदान गरिएको छ भने चेतन कार्की गीति वाङ्मय साधना सम्मान–२०८३ साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई प्रदान गरियो। यसैगरी, अभिनेता तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई पहिलोपटक प्रदान गरिएको नेपाल पूर्व प्रहरी कला साधना सम्मान–२०८३ बाट सम्मानित गरिएको छ।
कार्यक्रमको विशेष आकर्षण सम्मानित व्यक्तित्वहरूको जीवनयात्रा र कलात्मक योगदान समेटिएको भिडियो प्रस्तुति रह्यो। भिडियोमार्फत उनीहरूका जीवनसाथीको परिचय गराउँदै सफल यात्रामा दिएको साथ र योगदानप्रति आभार व्यक्त गरिएको थियो। सम्मान ग्रहणका क्रममा सम्मानित व्यक्तित्वका जीवनसाथीलाई पनि मञ्चमा आमन्त्रण गरी संयुक्त रूपमा सम्मान गरिएको थियो।
सम्मान प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अन्य पूर्व प्रहरी महानिरीक्षक तथा सम्बन्धित क्षेत्रका वरिष्ठ कलाकर्मीहरूले संयुक्त रूपमा प्रदान गरेका थिए। कार्यक्रममा कला, संस्कृति र संघका गतिविधिमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
नेपाल पूर्व प्रहरी कलाकार संघकी वरिष्ठ सल्लाहकार मिथिला शर्माले आफ्ना गुरुहरूको स्मृति र योगदानलाई जीवित राख्ने उद्देश्यले सम्मान स्थापना गरिएको बताइन्।
उनले भनिन्, “गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको गौरवशाली इतिहास जीवित राख्ने उद्देश्यले गुरुदक्षिणास्वरूप यो सम्मानको सुरुआत गरेकी हुँ। विगतले अंश माग्दैन। आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन। तर उहाँहरूको नाममा सम्मान अर्पण गर्न पाउँदा गुरुहरूबाट आशीर्वाद पाएजस्तो लाग्छ।”
संघका संस्थापक छत्रबहादुर गुरुङले यस्ता कार्यक्रमले मनोरञ्जनमा मात्र सीमित नभई नेपालको कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पनि योगदान पुर्याउँदै आएको बताए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस्ता कार्यक्रमले सेवाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीलाई प्रहरी परिवारसँग जोडिराख्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
कार्यक्रममा पूर्व तथा वर्तमान नेपाल प्रहरीसँग आबद्ध कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए। वरिष्ठ सल्लाहकार तथा अभिनेत्री मिथिला शर्माले पनि सरप्राइज प्रस्तुतिका रूपमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।