‘ककाकिकी’को लिरिकल थिम गीत सार्वजनिक

0 Shares

काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ककाकिकी’ को लिरिकल थिम गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रचार अभियानलाई थप तीव्र बनाएको हो।

सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर रहेको छ भने शब्द तथा संगीत शिशिर थतालको रहेको छ। यसअघि सार्वजनिक गरिएको फस्ट लुक भिडियोमा समावेश गरिएको गीतको हुकलाइनलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए। पूर्ण लिरिकल संस्करण सार्वजनिक भएसँगै फिल्मप्रतिको उत्सुकता अझ बढेको निर्माण पक्षको विश्वास छ।

यसअघि सार्वजनिक भएको फस्ट लुक भिडियोले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा बटुलेको थियो। विशेषगरी अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा तथा अभिनेता महेश त्रिपाठीको क्यारेक्टर लुक्सले दर्शकको ध्यान आकर्षित गरेका थिए। धेरै दर्शकले नेपाली फिल्ममा लामो समयपछि फरक शैली, नयाँ प्रस्तुति र ताजापन भएको कथा हेर्न पाइने अपेक्षा व्यक्त गरेका छन्।

फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ भने निर्माण टिमले अब ट्रेलर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। लिरिकल थिम गीत सार्वजनिक भएसँगै प्रचार अभियानले थप गति लिएको छ।

बिक्की अगरवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशन रहेको फिल्ममा अनीश बुढाथोकी सहायक निर्देशकका रूपमा रहेका छन्। फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल र एलिसा भोगलगायत कलाकारहरूको अभिनय रहेको छ।

सुमन अगरवालको अवधारणामा निर्माण भएको फिल्मको कथा तथा पटकथा बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले तयार पारेका हुन्। फिल्मको छायांकन सुदीप बरालको टोलीले गरेको हो। टाइटल आर्ट ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो भने पोस्टर डिजाइन कार्यालयले गरेको छ।

फस्ट लुक, पोस्टर र अहिले सार्वजनिक गरिएको लिरिकल थिम गीतले ‘ककाकिकी’ लाई यस वर्षका फरक स्वाद र बहुप्रतीक्षित नेपाली फिल्ममध्ये एकका रूपमा स्थापित गरेको देखिन्छ। अब ट्रेलरले दर्शकमाझ कस्तो प्रभाव छोड्छ भन्ने प्रतीक्षा बढेको छ।

सम्बन्धित समाचार

सबै