काठमाडौं। फिल्म ‘पार्वती’ को टिजर सार्वजनिक भएसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय यतिबेला चर्चाको केन्द्रमा पुगेको छ। विशेषगरी अटिजम भएकी युवतीको भूमिकामा उनको स्वाभाविक र भावनात्मक प्रस्तुतीले दर्शक तथा फिल्मकर्मीबाट व्यापक प्रशंसा बटुलेको छ।
टिजरमा नीताले अटिजम भएकी युवतीको भावभंगी, हाउभाउ र आफ्ना भाइप्रतिको निश्छल प्रेमलाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरेकी छन्। संवेदनशील र चुनौतीपूर्ण पात्रलाई सहज ढंगले निर्वाह गरेको भन्दै सामाजिक सञ्जालमा उनको अभिनयको खुलेर प्रशंसा भइरहेको छ।
कथा र पात्रअनुसार आफूलाई रूपान्तरण गर्न सक्ने कलाकारका रूपमा परिचित नीता ‘किसान’, ‘मसान’, ‘नोटबुक’ र ‘छ एकान छ’ लगायतका सफल फिल्ममार्फत दर्शकमाझ स्थापित भइसकेकी छन्। सात वर्षअघि प्रदर्शनमा आएको ‘पञ्चायत’ मा उनले वि.सं. २०३३ सालकी एक अबोध किशोरीको भूमिकामा गरेको अभिनयले पनि समीक्षक र दर्शकबाट उच्च प्रशंसा पाएको थियो।
रोचक संयोग के छ भने, नीताको अभिनयलाई विशेष रूपमा स्थापित गराएका ‘पञ्चायत’ र अहिले चर्चामा रहेको ‘पार्वती’ दुवै फिल्मका लेखक शिवम् अधिकारी हुन्।
नीताका अनुसार ‘पार्वती’ केवल मनोरञ्जनात्मक फिल्म नभई समाजका थुप्रै मौन पीडा बोकेका पात्रहरूको कथा हो। समाजमा देखिएका र अनुभूत गरिएका यथार्थलाई पर्दामा उतार्न पाउँदा आफू उत्साहित रहेको उनी बताउँछिन्।
“आफ्नै समाजको कथा, धेरै पार्वतीहरूको व्यथा र मौन पीडामा बाँचिरहेका अनगिन्ती पार्वतीहरूको आवाज बनेर ‘पार्वती’ दर्शकमाझ आउँदैछ,” नीताले बताएकी छन्।
अभिनयसँगै निर्माण क्षेत्रमा पनि सक्रिय नीता गत वर्ष ‘ह्रस्वदीर्घ’ मार्फत सफल निर्माताका रूपमा स्थापित भएकी थिइन्। ‘पार्वती’ मार्फत भने उनी पहिलोपटक निर्देशनमा पनि देखिँदैछिन्।
‘मसान’ देखि ‘पञ्चायत’ र अब ‘पार्वती’ सम्म आइपुग्दा नीताले आफूलाई विविध पात्रमा ढाल्न सक्ने बहुआयामिक कलाकारका रूपमा पुनः प्रमाणित गरेकी छन्। आगामी भदौ १२ गते प्रदर्शनमा आउन लागेको ‘पार्वती’ मार्फत निर्देशकका रूपमा उनको नयाँ यात्रा सुरु हुँदैछ।