‘अक्षरा’को तीज गीत ‘नाचौँ बरिलै’ सार्वजनिक, रिस्ता अधिकारी र न्यान्सी खड्काको नृत्य आकर्षण

0 Shares

काठमाडौं। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘अक्षरा’को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा फिल्मकर्मीहरूको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरेको हो।

गीतको भिडियो मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक भएको गीतमा गायिका समिक्षा अधिकारीको स्वर, सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ।

लोकलयमा आधारित यस गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्री न्यान्सी खड्का र रिस्ता अधिकारीको ऊर्जावान नृत्य प्रस्तुत गरिएको छ। कार्यक्रममा उपस्थित पत्रकार तथा फिल्मकर्मीहरूले उनीहरूको प्रस्तुति सकारात्मक रूपमा रुचाएका थिए।

फिल्मका निर्देशक विनयराज पौडेल हुन् भने नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।

फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाले अभिनय गरेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्।

फिल्मको मूल कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा र संवाद अभिमन्यु निरवी तथा निर्देशक विनयराज पौडेलले तयार पारेका छन्।

फिल्मका अन्य गीतमा अञ्जु पन्त, समिक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर रहेको छ। छायांकन दिपेन बस्न्यात, द्वन्द्व निर्देशन शंकर महर्जन तथा वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्नेछन्।

निर्माण टिमका अनुसार फिल्मका सम्पूर्ण डिजिटल सामग्री मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक गरिनेछ। यसका लागि केही दिनअघि निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधिबीच औपचारिक सम्झौता सम्पन्न भएको थियो।

‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै