‘हली’को प्रचार अभियान देशभर, अटो र ई–रिक्सामार्फत साउन २२ को रिलिजबारे प्रचार

0 Shares

काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म **‘हली’**ले प्रदर्शनअघि देशव्यापी प्रचार अभियानलाई तीव्र बनाएको छ। निर्माण टिमले काठमाडौं उपत्यकासँगै पूर्व र पश्चिमका प्रमुख सहरहरूमा अटो र ई–रिक्सामार्फत फिल्मको प्रचारलाई व्यापक बनाएको हो।

निर्माण टिमका अनुसार झापा, मोरङ र सुनसरीमा प्रचार अभियान सम्पन्न भएपछि अहिले दाङ, नेपालगञ्ज र धनगढीमा फिल्मको प्रचारलाई गति दिइएको छ। ती क्षेत्रमा सञ्चालन हुने सयौं अटो र ई–रिक्सामा ‘हली’का पोस्टर टाँसिएका छन्, जसले प्रदर्शन मिति र फिल्मबारे सर्वसाधारणलाई जानकारी गराइरहेका छन्।

फिल्मका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठले दर्शकमाझ फिल्मको पहुँच बढाउन परम्परागत र स्थानीय माध्यमलाई समेत प्रभावकारी रूपमा प्रयोग गरिएको बताए। उनीहरूका अनुसार प्रदर्शनअघि धेरैभन्दा धेरै दर्शुसम्म फिल्मको जानकारी पुर्‍याउने उद्देश्यले प्रचार अभियानलाई देशभर विस्तार गरिएको हो।

निर्माता पूजा गुरुङले भनिन्, “फिल्म सफल बनाउन दर्शुसम्म यसको जानकारी पुग्न आवश्यक छ। त्यसैले साउन २२ गतेदेखि ‘हली’ प्रदर्शनमा आउँदैछ भन्ने सन्देश देशभर फैलाउने प्रयास गरिरहेका छौं।”

यसअघि प्रचार अभियानकै क्रममा काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा विशेष प्रदर्शन (स्पेसल स्क्रिनिङ) आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी फिल्मकर्मी र दर्शकबाट फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्माण टिमले जनाएको छ।

निर्देशक ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको ‘हली’ले छाउपडी प्रथाका कारण बालिका र महिलाले भोग्नुपरेका सामाजिक विभेद, पीडा र दुर्व्यवहारलाई मुख्य विषयवस्तु बनाएको छ। फिल्मले सामाजिक परिवर्तनका लागि एउटा सचेत र साहसी व्यक्तिको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिन खोजेको निर्माण पक्षको भनाइ छ।

यसअघि सार्वजनिक गरिएको ट्रेलर, पोस्टर र प्रमोसनल गीतले पनि दर्शकमाझ राम्रो चर्चा बटुलिसकेको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ।

फिल्मको विशेष आकर्षणका रूपमा रहेको प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य प्रस्तुत गरिएको छ।

राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वर रहेको गीत पनि फिल्ममा समावेश गरिएको छ। गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।

‘हली’को वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

सम्बन्धित समाचार

सबै