‘पच्चीस पच्चीस’ घोषणा, अबिषेक–खुशी–प्रमोद मुख्य भूमिकामा, दार्जिलिङका ‘भक्ते भाइ’को नेपाली फिल्ममा डेब्यु

0 Shares

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’को औपचारिक निर्माण घोषणा गरिएको छ। सोमबार काठमाडौंको दरबारमार्गस्थित कासा लाउन्ज बारमा आयोजित विशेष समारोहमा फिल्मको शीर्षक, निर्माण टिम तथा मुख्य कलाकार सार्वजनिक गरिएको हो।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्देशन रंगपत्रकारिता र फिल्म निर्देशनमा लामो अनुभव बटुलेका सुब्रत आचार्यले गर्नेछन्। यसअघि उनले ‘अधकट्टी’, ‘सुश्री सम्पत्ति’ लगायतका फिल्म तथा थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। ‘पच्चीस पच्चीस’ उनको तेस्रो निर्देशकीय फिल्म हुनेछ।

फिल्मका निर्माता कर्ण कार्की हुन्। बैंकिङ, क्याफे, सलुन तथा आयात–निर्यातलगायत विभिन्न व्यवसायमा संलग्न कार्कीले गत वर्ष ‘होस्टेल ३’बाट फिल्म निर्माण यात्रा सुरु गरेका थिए। ‘पच्चीस पच्चीस’ उनको दोस्रो निर्माण परियोजना हो।

फिल्ममा अबिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरी मुख्य भूमिकामा देखिनेछन्। यस्तै, सामाजिक सञ्जालमार्फत लोकप्रिय बनेका दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा (भक्ते भाइ)ले यही फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गर्ने भएका छन्।

‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत ठेट हास्य शैलीका भिडियो निर्माण गर्दै नेपाल, दार्जिलिङ र सिक्किमका दर्शकमाझ लोकप्रिय बनेका अमितको फिल्म प्रवेशलाई निर्माण पक्षले फिल्मको विशेष आकर्षणका रूपमा प्रस्तुत गरेको छ।

फिल्मको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। छायांकन निर्देशक हरि हुमागाईं रहनेछन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन्।

फिल्मका सह-निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन्। दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माता हुन् भने प्रकाश कँडेल र मनिषा राउत लाइन प्रोड्युसरका रूपमा रहेका छन्।

निर्माण टिमका अनुसार फिल्म छिट्टै फ्लोरमा जाने तयारीमा छ। सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्दै मनोरञ्जन र सन्देश दुवै दिने उद्देश्यका साथ फिल्म निर्माण भइरहेको निर्देशक सुब्रत आचार्यले बताए। कलाकारहरूले पनि फिल्मप्रति उत्साह व्यक्त गर्दै दर्शकले फरक स्वादको मनोरञ्जन पाउने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै