नेपाली बक्स अफिसमा ‘गौँथली’को दबदबा जारी, मल्टिप्लेक्सले ‘स्पाइडर म्यान’ च्याप्दा पनि १७ दिनमा कमायो १३.६४ करोड

0 Shares

काठमाडौं । नेपाली फिल्म **‘गौँथली’**ले प्रदर्शनको दोस्रो सातापछि पनि बक्स अफिसमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपा विवरणअनुसार फिल्मले १७ दिनमा १३ करोड ६४ लाख ४६ हजार ५३५ रुपैयाँ ग्रस कमाइ गर्दै यस वर्षको सर्वाधिक सफल नेपाली फिल्ममध्ये एक बन्ने संकेत दिएको छ।

बोर्डका अनुसार फिल्मले हालसम्म ४ लाख ९४ हजार ९१५ टिकट बिक्री गरेको छ। प्रदर्शनको पहिलो १० दिनमा ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ कमाएको फिल्मले त्यसपछिका सात दिनमै थप ६ करोड २१ लाख ७२ हजार ६७६ रुपैयाँ आम्दानी गरेको छ। दोस्रो साताको कमाइ पहिलो साताभन्दा बलियो देखिएको छ, जसले फिल्मको लोकप्रियता अझै कायम रहेको संकेत गर्छ।

हाल प्रदर्शनको तेस्रो सातामा रहेको ‘गौँथली’को व्यापारिक गति उल्लेखनीय रूपमा कायम छ। गत बिहीबारदेखि प्रदर्शनमा आएको हलिउड फिल्म ‘स्पाइडर–म्यान: ब्रान्ड न्यू डे’सँग प्रतिस्पर्धा गर्नुपरे पनि अधिकांश शोमा फिल्मले दैनिक करिब ८० प्रतिशत अकुपेन्सी कायम राखेको बताइएको छ।

यही व्यापारिक रफ्तार कायम रहे आगामी १० देखि १२ दिनभित्र फिल्मले २० करोड रुपैयाँ ग्रस कमाइको ऐतिहासिक आँकडा पार गर्ने अनुमान गरिएको छ।

यसैबीच, चलचित्र विकास बोर्डले गत जेठ १५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म **‘रोल नं. १’**को बक्स अफिस विवरण पनि सार्वजनिक गरेको छ।

बोर्डका अनुसार ‘रोल नं. १’ले साउन १७ गतेसम्म १ करोड ७८ लाख ६२ हजार ६९८ रुपैयाँ ग्रस कमाइ गरेको छ। पछिल्लो सात दिनमा फिल्मको कमाइ ११ हजार रुपैयाँ रहेको छ। हालसम्म फिल्मका ७१ हजार ५७२ टिकट बिक्री भएका छन्।

सम्बन्धित समाचार

सबै