‘झिँगेदाउ २’को टिजर सार्वजनिक, आर्यनको रहस्यमय लुकले बढायो कौतुहलता

0 Shares

काठमाडौं । फिल्म ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रममा निर्माण टिमले फिल्मको १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो।

टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढावसँगै देउरानी–जेठानीबीचको घरझगडालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। टिजरको सुरुमै हिउँवाला गौतम मध्यरातमा घर छोडेर हिँडेको दृश्य देखिन्छ। त्यसपछि परिवारका सदस्यहरू उनलाई खोज्न निस्किएको देखाइएको छ।

टिजरले पहिलो भाग ‘झिँगेदाउ’ को पारिवारिक कथाको झल्को दिए पनि यसपटक केही नयाँ ट्विस्ट थपिएको संकेत गर्छ। विशेषगरी आर्यन सिग्देलको रहस्यमय लुकले दर्शकको कौतुहलता बढाएको छ। उनी टिजरमा शरीरमा साङ्लो बेरिएको अवस्थामा देखिन्छन्, जसले कथामा उनको भूमिका र आउने मोडबारे थप जिज्ञासा पैदा गर्छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिँगेदाउ २’ पहिलो भागकै सिक्वेल हो। फिल्ममा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइको भूमिकामा देखिएका छन्।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय रहेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ।

कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। फिल्मको प्रोडक्सन म्यानेजमेन्ट ईश्वर घिमिरेले सम्हालेका छन्।

फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालभर वितरण गर्नेछ। ‘झिँगेदाउ २’ आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

टिजर सार्वजनिक कार्यक्रममा उपस्थित अधिकांश फिल्मकर्मीले यसको प्रशंसा गरेका थिए। पूर्ण रूपमा पारिवारिक कथावस्तुमा आधारित टिजरले दर्शकको ध्यान तान्ने विश्वास निर्माण टिमले लिएको छ।

यसअघि प्रदर्शनमा आएको ‘झिँगेदाउ’ले बक्स अफिसमा सुपरहिट व्यापार गरेको थियो। सोही फिल्मको सिक्वेलका रूपमा निर्माण भएको ‘झिँगेदाउ २’को टिजरले पनि दर्शकमाझ उत्सुकता बढाएको छ।

सम्बन्धित समाचार

सबै