यस्तो छ ‘इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर

0 Shares

काठमाडौं । भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘तिनीहरू : इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै फिल्मको म्युजिकल ट्रेलर सार्वजनिक गरेको हो।

१ मिनेटभन्दा लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरूको छटपटी, हतासपन र आक्रोशलाई प्रस्तुत गरिएको छ। सन्तान हराएपछि उसको खोजीमा भौतारिएकी आमाको पीडा र संघर्षलाई ट्रेलरको केन्द्रमा राखिएको छ।

जंगली हात्तीको आतंकबाट त्रसित बस्ती र त्यहाँ बसोबास गर्ने समुदायले भोगिरहेको दुःख पनि ट्रेलरमा देखाइएको छ। रोचक पक्ष के छ भने, ट्रेलरमा हात्तीलाई भने प्रत्यक्ष देखाइएको छैन। हात्तीको आतंक र त्यसबाट उत्पन्न त्रासलाई वातावरण र पात्रहरूको प्रतिक्रियामार्फत प्रस्तुत गरिएको छ।

छोरी अप्सरा हराएपछि आमाले प्रहरीसँग उनको खोजीका लागि गरेको आग्रह, आफन्तमाथि उत्पन्न शंका तथा छोरीलाई जसरी पनि फेला पार्न उनले गरेको संघर्ष ट्रेलरमा देखिन्छ। केही दृश्यले कथामा रहस्य र सस्पेन्स थपेका छन्। विशेषगरी कसैको बलि चढाइरहेको जस्तो देखिने दृश्यले फिल्मको कथाप्रति थप कौतुहलता पैदा गर्छ।

म्युजिकल ट्रेलरमा सार्वजनिक गीतको क्याची बिट र भोजपुरी लयको प्रभाव पनि आकर्षक देखिन्छ। गीतमा तेस्रोलिंगी समुदायका व्यक्तिहरू नाचिरहेको दृश्यले ट्रेलरलाई थप फरक बनाएको छ।

अविनाश विक्रम शाहको निर्देशन रहेको ‘तिनीहरू : इलिफेन्ट्स इन द फग’ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको इतिहासमा महत्वपूर्ण सफलता हासिल गरेको थियो। कान्समा जुरी च्वाइस अवार्ड जितेपछि यो फिल्म नेपालमा पनि प्रतीक्षित बनेको हो।

जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्ने फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।

नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा फिल्म निर्माण भएको हो। नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता रहेका छन्।

फिल्मका सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्राजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, तथा अन्य अन्तर्राष्ट्रिय निर्माताहरू रहेका छन्। चार्ल्स अडिनेट लाइन प्रोड्यूसर हुन्। अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता रहेका छन्।

अन्डरग्राउन्ड टकिज नेपालका तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माता रहेका छन्।

निर्देशक शाहकै पटकथा रहेको फिल्मको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले लेखेका हुन्।

सार्वजनिक म्युजिकल ट्रेलरको गीतमा लव कर्णको शब्द तथा शिवानी भगत र देव अहिररावको स्वर रहेको छ।

यसअघि आफ्नो लघु फिल्म ‘लोरी’मार्फत कान्समा पुरस्कार जितिसकेका अविनाश विक्रम शाह ‘कालो पोथी’, ‘शाम्बाला’ तथा लिमिटेड सिरिज ‘सिंहदरबार’का पटकथाकारसमेत हुन्।

‘तिनीहरू : इलिफेन्ट्स इन द फग’ भदौ १९ गतेदेखि नेपालमा प्रदर्शन हुँदैछ।

सम्बन्धित समाचार

सबै