
‘लुट’ अनि त्यसपछि आएको ‘कबड्डी’ सिरिजले दर्शक र मेकरको प्राथमिक रोजाइमा परेपछि दयाहाङले धेरै संख्यामा सिनेमा खेले।
समयक्रमले उनीमाथि सिनेमाहरु लगातार नचलिदिनाले एउटा आरोप लाग्यो जुन आरोपका लागि राजेश हमाल नेपाली सिनेमाको चर्चा हुँदा आलोचित बनिरहन्छन्।
त्यो हो धेरै सिनेमा खेलेको र त्यसले संख्या मात्रै बढेको गुणस्तर नबढेको आरोप। यसबारेमा दया र राजेशका आफ्नाआफ्ना बचाउ तर्कहरु छन् ।
धेरै सिनेमा खेल्नाले एउटै मितिमा सिनेमा रिलिज समेत भएका छन् । दयाहाङका सिनेमा हरेक महिनाजसो प्रदर्शनमा आउँछन् । यसले दर्शकलाई उनका कुन सिनेमा हेरौँ? कुन नहेरौँ हुने गरेको बताइन्छ ।
दया पछिल्लोपटक ‘घरज्वाइँ’ सिनेमामा देखिएका थिए। सो सिनेमा असार २८ गते रिलिज भएको थियो। सोपछि दयाको सिनेमा रिलिज नभएको ५ महिना भइसकेको छ ।
यस्तोमा उनको नयाँ सिनेमा ‘कार्साङ’ पुस २६ गते रिलिज हुँदैछ। यो अन्तराललाई दयाले सिनेमा कम संख्या गर्न लागेको अर्थमा हेरिएको छ। र यत्रो अन्तरालमा सिनेमा आइराखेकाले ‘कार्साङ’ले हलमा राम्रो नतिजा देखाउने अनुमान पनि गरिदैं आइएको छ।
यो सिनेमाले ‘घरज्वाईँ’को सफलतालाई निरन्तरता दिनेमा आशामा निर्माता तथा वितरकहरु रहेका छन् ।
सिनेमामा दया आम ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिकामा पर्दामा प्रस्तुत हुनेछन् । उनको पात्रले अभाव र दुःखबीच आफ्नो जातिको संस्कारलाई जोगाउनुपर्ने चुनौतीलाई कथानक बनाएको छ ।
सिनेमाको टिजर सार्वजनिक भइसकेको छ। सो टिजरले अभाव र इमान्दार समाजका भुइँ मान्छेहरू कसरी आफ्ना–आफन्त र समाजबाट पाखा लगाइन्छन् भन्ने ‘कार्साङ’ले प्रस्तुत गरेको छ ।
‘कार्साङ’मा गरिबीमा जीवन बिताइरहेका आम नेपालीको कथा भन्दा दर्शकले शेर्पा समुदायको सांस्कृतिक तथा सामाजिक पक्ष नुभूत गर्न पाउनेछन् ।
प्रायः दयाहाङ हाइफाइ र चटपटेभन्दा मौलिक कथामार्फत सिनेमामा देखिँदै आएका कलाकार हुन् । यसपटक पनि उनी शेर्पा समुदायको कथा लिएर दर्शकलाई भेट्न आउँदैछन् । त्यसैले यो सिनेमा दर्शकका लागि रुचिकर हुनसक्नेछ ।
‘कार्साङ’लाई डेब्यू निर्देशक यम शेर्पाले निर्देशन गरेका हुन् भने कथा पनि उनकै हो ।
सिनेमामा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । सिर्जना निङलेखुको यो डेब्यु सिनेमा हो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा पुरुषोत्तम प्रधान छायांकार हुन् । उनी निर्माता पनि हुन् ।
सिनेमाको सहनिर्माता गोविन्द बोहरा हुन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।