काठमाडौं । ब्लकबस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको फिल्म ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ। फिल्मको छायांकन ५१ दिनमा पूरा भएको हो।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको छायांकन जेठ १५ गतेदेखि सुरु भएको थियो। धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा फिल्मको छायांकन गरिएको हो।
निर्देशक आचार्यले गत वर्ष निर्देशन गरेको फिल्म ‘परान’ सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली फिल्म बनेपछि उनको दोस्रो निर्देशकीय फिल्म ‘चिरञ्जीवी भवः’प्रति दर्शकको चासो बढेको छ।
छायांकन सकिएपछि निर्देशक आचार्यले पोस्ट प्रोडक्सनमा पनि उत्तिकै मेहनत गर्ने बताएका छन्।
“हामीले मन खोलेर समय लगाएर चलचित्रको छायांकन गरेका छौँ। अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ,” उनले भने, “कलाकार र प्राविधिकले जसरी छायांकनमा मेहनत गरेका छन्, अब पोस्टमा पनि त्यतिकै मेहनत गरेर दर्शकलाई मन पर्ने चलचित्र लिएर आउनेछौँ।”
कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि फिल्ममा निर्देशक आचार्यसँगै जोडिएका छन्। कुमारको कथामा दीपकले फिल्म निर्माण गरेका हुन्।
फिल्ममा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री तथा मोडल एवं इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्।
त्यस्तै, कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला ‘कक्रोज’, गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल र सुमन ज्योति न्यौपाने लगायतका कलाकारको पनि अभिनय रहेको छ।
कुमार कट्टेलको कथामा आधारित फिल्मको लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गरेका छन्। सोसल ड्रामाका रूपमा निर्माण भएको ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य विषय बनाएको छ।
उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन्।
निर्देशक दीपक आचार्यले फिल्मको गीतसमेत लेखेका छन्। गीतमा हर्क साउदको पनि शब्द रहनेछ।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन तथा बाबु गिरीको संगीत रहेको छ। गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन्।
रामबाबु खड्का प्रमुख सहायक निर्देशक हुन् भने सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशकका रूपमा रहेका छन्। सुवास राज काफ्ले प्रोजेक्ट म्यानेजर तथा विशाल न्यौपाने प्रोडक्सन डिजाइनर हुन्।
मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली र अनिश लामिछाने तथा पब्लिसिटी डिजाइनमा टाउवा स्टुडियो (विजय बस्याल) रहेका छन्।
‘चिरञ्जीवी भवः’ २०८३ माघ १ गते (१५ जनवरी २०२७) देखि देशभर प्रदर्शनमा आउनेछ। फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।