काठमाडौं । सन् २००० मा प्रदर्शनमा आएको ‘गौँथली’ले ५१औँ दिन मनाएको इतिहासलाई २६ वर्षपछि यसको नयाँ संस्करणले दोहोर्याउने संकेत देखाएको छ। डा. भोला रिजालकै कथामा उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेको नयाँ ‘गौँथली’ले प्रदर्शनको तेस्रो सातामै १९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।
यससँगै ‘गौँथली’ हालसम्म यस वर्षकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको दाबी गरिएको छ। शनिबार पनि फिल्मका अधिकांश शो हाउसफुल रहेको निर्माण पक्षको भनाइ छ। बलियो वर्ड अफ माउथका कारण फिल्म अब २५ करोड रुपैयाँको ग्रस कलेक्सनतर्फ अघि बढेको देखिन्छ।
यसअघि विसं. २०५७ मा रिलिज भएको पहिलो ‘गौँथली’ले पनि आफ्नो समयमै उल्लेखनीय सफलता हासिल गरेको थियो। तत्कालीन माओवादी आन्दोलनका कारण काठमाडौंका सिनेमा हल प्रभावित भए पनि दाङलगायत काठमाडौं बाहिरका तीन स्टेशनमा फिल्मले ५१औँ दिन मनाउन सफल भएको थियो। उक्त फिल्मलाई नेपाली फिल्मको प्रारम्भिक म्युजिकल फिल्ममध्ये एकका रूपमा समेत स्मरण गरिन्छ।
२६ वर्षपछि सोही कथालाई नयाँ पुस्ताको स्वादअनुसार अपडेट गर्दै ‘गौँथली’ निर्माण गरिएको हो। निर्देशक कपिल रिजालका लागि भने यो ‘ह्यारी कि प्यारी’पछि दोस्रो निर्देशकीय फिल्म हो।
फिल्मले लगातार राम्रो शो पाइरहेको छ। ‘स्पाइडर–म्यान’का शो घट्दै जाँदा ‘गौँथली’का शो थपिनु र नयाँ रिलिज भएका फिल्मको तुलनामा दर्शकको रोजाइमा यो फिल्म पर्नुले यसको व्यापारिक गति बलियो रहेको देखाएको छ।
निर्देशक कपिल रिजाल दर्शकको प्रतिक्रियाबाट उत्साहित छन्।
“हलमा आएपछि सिनेमा हाम्रो रहँदैन, दर्शकको हुन्छ। दर्शकले मन पराइदिनुभएको छ। आफूले हेरेपछि आफ्ना आफन्त र छिमेकीलाई पनि हेरिदिनुस् भनेर भनिरहनुभएको छ,” उनले भने, “अहिलेसम्मको माया र प्रतिक्रिया हेर्दा ५१औँ दिनको सेलिब्रेसन ‘गौँथली’ले गर्छ भन्ने लागेको छ।”
फिल्मको वर्ड अफ माउथ बलियो हुँदा सामान्य दिनमा समेत राम्रो अकुपेन्सी देखिएको निर्माण पक्षको भनाइ छ। विशेषगरी महिला दर्शकको उपस्थिति उल्लेख्य रहेको बताइएको छ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथामा बनेको फिल्मको पटकथा तथा संवादमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। सुमन गिरी र डा. कपिल रिजाल निर्माता तथा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेका छन्।
घर, परिवार, सम्बन्ध र आत्मीयतालाई केन्द्रमा राखिएको फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन्।
यदि ‘गौँथली’ले यही लय कायम राख्यो भने २५ करोडको आँकडा पार गर्ने मात्र होइन, ५१औँ दिन मनाउने नयाँ ‘गौँथली’को इतिहास पनि बन्ने सम्भावना बलियो देखिएको छ।