‘साम्राज्य’मा दयाहाङको प्रवेश, स्टारकास्ट बलियो

0 Shares

काठमाडौं । निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यसअघि अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरिसकेका चौधरीले अब दयाहाङलाई पनि फिल्ममा भित्र्याएका हुन्।

‘लुट’बाट एकैपटक स्टार बनेका दयाहाङ र सौगात नेपाली फिल्मका चर्चित जोडी हुन्। एउटै फिल्ममा यी दुई अभिनेता देखिने भएपछि ‘द राइज अफ साम्राज्य’प्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ।

निर्देशक चौधरीले फिल्ममा अझै केही ‘सरप्राइजिङ’ नाम सार्वजनिक गर्न बाँकी रहेको बताएका छन्।

“हामीले हालसम्म सौगात र दयाहाङलाई हाम्रो फिल्ममा भित्र्याएका छौँ। यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ,” चौधरीले भने, “फिल्मलाई राम्रो र प्रतिक्षित बनाउन हामी कुनै पनि कसर बाँकी राख्ने छैनौँ। दर्शकलाई सकेसम्म राम्रो र स्तरीय फिल्म दिनु हाम्रो उद्देश्य हो।”

दयाहाङसँग निर्देशक चौधरीले पहिलोपटक सहकार्य गर्न लागेका हुन्। निर्देशकका अनुसार फिल्ममा दयाहाङलाई यसअघिका भूमिकाभन्दा फरक चरित्रमा देख्न पाइनेछ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘द राइज अफ साम्राज्य’ मल्टीस्टार फिल्मका रूपमा अगाडि बढ्ने निर्माण पक्षले जनाएको छ। फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीले यसलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गर्ने बताएका छन्।

फिल्मलाई यसअघिका आफ्ना कामभन्दा ठूलो क्यानभासमा खिच्ने तयारीमा चौधरी छन्। निर्माण पक्षले यसलाई नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्म बनाउने दाबी गरेको छ।

फिल्मको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ। फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ।

प्रवेश चौधरी र निला देव फिल्मका निर्माता हुन्। विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।

मानकृष्ण महर्जन डीओपी तथा श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा रहनेछन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरक रहेको निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै