काठमाडौं । विनयराज पौडेलको निर्देशनमा बनेको नेपाली फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार ‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत २ मिनेट २ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो।
टिजरले धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक हिंसा र पीडाको कथा प्रस्तुत गरेको छ। छोरीको विवाह गराउँदा केटाको पारिवारिक पृष्ठभूमि नबुझी अनुहार र धनसम्पत्तिलाई मात्रै आधार बनाउँदा निम्तिन सक्ने कारुणिक परिणामलाई टिजरले देखाएको छ।
फिल्ममा सुशील पोखरेलले बुबा र न्यान्सी खड्काले उनकी छोरीको भूमिका निर्वाह गरेका छन्। सुशील सिटौला भने न्यान्सीका श्रीमानको भूमिकामा छन्। रक्सीको लतमा फसेका र श्रीमतीमाथि हिंसा गर्ने तथा आफ्नो पारिवारिक हैसियतको धाक देखाउने चरित्रमा सिटौला प्रस्तुत भएका छन्।
श्रीमानबाट कुटिएपछि माइती पुगेकी छोरीले बुबासँग गरेको संवाद टिजरको मुख्य आकर्षण बनेको छ। उनले आफूले सधैँ अरूको घर र परिवारका लागि मात्रै त्याग गर्नुपर्ने अवस्थामाथि प्रश्न उठाउँदै छोरी माइतीको पनि ‘टेको’ बन्न सक्ने भाव व्यक्त गरेकी छन्।
टिजरले महिला हिंसा, विवाहपछिको पारिवारिक दबाब र छोरीप्रतिको सामाजिक दृष्टिकोणजस्ता विषयलाई कथाको केन्द्रमा राखेको संकेत गर्छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले फिल्ममा लगानी गरेका छन्। सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्।
फिल्मको मूल कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।
‘अक्षरा’मा न्यान्सी खड्का, सुशील सिटौला र सुशील पोखरेलसँगै अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।
फिल्मका गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ। अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीले गीतमा स्वर दिएका छन्।
गौतम खड्काले फिल्म सम्पादन गरेका छन् भने टिजर तथा ट्रेलरको जिम्मेवारी साहिल खानले सम्हालेका छन्। दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।
नेसनल सिने ग्रुप नेपालको तर्फबाट दीपक दंगालले वितरण गर्ने फिल्म ‘अक्षरा’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।