‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

0 Shares

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिकालाई देख्न सकिन्छ। गीतको अडियोसँगै भिडियो पनि आकर्षक बनेको छ।

एसडी योगी र अञ्जु पन्तको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा एसडी योगीको संगीत निर्देशन छ। रिकेश गुरुङ संगीत निर्माता हुन्। सुरेन्द्र राईले कोरियोग्राफी गरेको गीतको भिडियोमा शेखर घर्ती मगर र सुशन तामाङले सहायक कोरियोग्राफरका रूपमा काम गरेका छन्।

‘जलाकी’ निर्देशक अशोक थापा मगरको दोस्रो फिल्म हो। उनको डेब्यू फिल्म ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। उक्त फिल्मको ‘रुकुम मैकोट’ गीत टिकटक, फेसबुक रिल्स र युट्युबलगायत सामाजिक सञ्जालमा व्यापक लोकप्रिय बनेको थियो।

‘खुस्मा’को सफलतापछि निर्देशक मगरले ‘जलाकी’बाट पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

निर्माण पक्षले यसअघि फिल्मको प्रदर्शन मिति घोषणा गर्दै दुई पोस्टर सार्वजनिक गरिसकेको छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन्। शैलेन्द्र डी. कार्कीले छायांकन गरेको फिल्म आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

‘जलाकी’मा सोनम तोप्देन र उपासना सिंह ठकुरीसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकारको अभिनय छ।

विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन्। बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर छन्।

मिस सिक्किम साहारा हाङमा लिम्बूले ‘जलाकी’मार्फत नेपाली फिल्ममा डेब्यू गरेकी छन्।

फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी हुन्।

गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले फिल्मको वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै