काठमाडौं । चार दिनअघि सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ २’को टिजर सामाजिक सञ्जालमा आक्रामक रूपमा फैलिएको छ। टिजरले युट्युबमा मात्रै १० लाखभन्दा बढी भ्यूज पाएको निर्माण पक्षले जनाएको छ।
दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएसँगै टिजरले छोटो समयमै उल्लेख्य भ्यूज बटुलेको हो। फेसबुक र टिकटकमा समेत टिजरका विभिन्न क्लिप तथा दृश्यले व्यापक चर्चा पाइरहेका छन्। निर्माण पक्षका अनुसार यी दुई प्लेटफर्ममा टिजरलाई १ करोडभन्दा बढी पटक हेरिएको छ।
टिजरमा अभिनेत्री केकी अधिकारी र आँचल शर्माबीचको झगडाको दृश्य विशेष चर्चामा छ। रुखमाथि भएको दुई अभिनेत्रीको झगडाको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको टिजरले जेठानी–देउरानीबीचको द्वन्द्व, दाजुभाइको कलह र आमाको पीडालाई केन्द्रमा राखेको छ। पारिवारिक सम्बन्धमा आउने तनाव र आमाको महत्वलाई फिल्मले मुख्य विषय बनाएको निर्देशक देउजाले बताएका छन्।
असोज २ गतेदेखि प्रदर्शनमा आउने ‘झिंगे दाउ २’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा फिल्म क्षेत्रमा गर्न थालिएको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ। सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा रहेका छन्।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन्। ईश्वर घिमिरेले प्रोडक्सन म्यानेजमेन्ट सम्हालेका छन्। फिल्ममा अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ।
परिच्छेद सेनले पटकथा तथा संवाद लेखेका हुन् भने गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ।
फिल्मको टिजरमा समावेश केकी र आँचलको झगडाको दृश्यलाई दर्शकले विशेष रुचाएका छन्। यही दृश्यका कारण पनि ‘झिंगे दाउ २’को प्रचारमा थप गति आएको निर्माण पक्षको दाबी छ।