‘बा : एक योद्धा’का गीतलाई दर्शकको उच्च रेटिङ

0 Shares

काठमाडौं । फिल्म ‘बा : एक योद्धा’ का दुई गीतले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएका छन्। फिल्मका गीत ‘नभन्नू कोइसित’ र ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक भएपछि दर्शकले युट्युबमार्फत गीतको प्रशंसा गर्दै विभिन्न प्रतिक्रिया दिएका छन्।

दर्शक टेकेन कँडेलले दुवै गीत सुनेपछि प्रतिक्रिया दिँदै ‘नभन्नू कोइसित’लाई १० मा ८ र ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’लाई १० मा ९.९९ अंक दिएका छन्। उनले गीतले राम्रो सन्देश बोकेको र लोक संस्कारलाई समेटेको उल्लेख गरेका छन्।

त्यस्तै, सिबी राना मगरले ‘नभन्नू कोइसित’ मन परेको प्रतिक्रिया दिएका छन्। उनले लामो समयपछि पञ्चेबाजाको नयाँ गीत सुन्न पाउँदा खुसी व्यक्त गर्दै गायक सागर आले र समीक्षा अधिकारीको स्वरको प्रशंसा गरेका छन्।

यी प्रतिक्रियासँगै ‘बा : एक योद्धा’ को निर्माण टिम उत्साहित बनेको छ। फिल्मको प्रचारप्रसारसमेत सुरु भइसकेको छ।

केही दिनअघि लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको थियो। त्यसअघि फिल्मको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो। दुवै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।

‘बा : एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौती फिल्मको मुख्य कथावस्तु रहेको निर्माण पक्षले जनाएको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।

संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका हरि लम्सालले यसै फिल्ममार्फत फिचर फिल्म निर्देशनमा डेब्यु गरेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा पनि लम्सालकै हो।

वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन्। शिवराम श्रेष्ठले छायांकन गरेको फिल्मको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्।

‘बा : एक योद्धा’को वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

सम्बन्धित समाचार

सबै