बलिराम चौहानको निर्देशनमा बन्न लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेत्री गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। मुख्य भूमिकामा यो उनको डेब्यु फिल्म हो। यसअघि उनले केही फिल्ममा सहायक भूमिकामा अभिनय गरिसकेकी छन्।
गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय प्रशिक्षण लिएकी हुन्। प्रशिक्षणका क्रममा उनले अभिनयका विभिन्न पक्षसँगै अभिव्यक्ति, प्रस्तुति र चरित्र निर्माणमा काम गरेकी थिइन्। अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन, म्युजिक भिडियो तथा हरर फिल्म ‘मम्मी’मा समेत अभिनय गरेकी छन्।
बाल्यकालदेखि नै कलाकारिता र क्यामेराअगाडिको प्रस्तुतिप्रति आकर्षित गुराँसले आफ्नो रुचिलाई करियरमा रूपान्तरण गर्ने उद्देश्यले निरन्तर प्रशिक्षण र मेहनत गर्दै आएकी छन्।
निर्देशक चौहानका अनुसार ‘ल्याङ्ग ल्याङ्ग’मा गुराँस एक्ली अभिनेत्री हुन्। फिल्मको पात्रअनुसार उनको व्यक्तित्व र अभिनय क्षमता उपयुक्त देखिएपछि निर्माण टिमले बुधबार उनलाई अनुबन्धित गरेको हो।
यसअघि फिल्मको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसकेका छन्। निर्माण टिमले अझै एक जना अभिनेताको खोजी गरिरहेको छ। उक्त अभिनेता फाइनल भएपछि फिल्मको मुख्य कलाकारको लाइनअप पूरा हुने निर्देशक चौहानले बताए।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘ल्याङ्ग ल्याङ्ग’ले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्नेछ। युवापुस्ताको मनोविज्ञान र समसामयिक विषयलाई केन्द्रमा राखेर फिल्म निर्माण गर्न लागिएको निर्देशक चौहानले जानकारी दिए।
फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले साथीभाइबीच एउटै विषयमा हुने दबाब वा मानसिक तनावलाई जनाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई नै फिल्मको शीर्षक बनाइएको हो। फिल्मले यही पुस्ताको चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई पर्दामा प्रस्तुत गर्ने निर्माण टिमको दाबी छ।
गुराँस मुख्य भूमिकामा अनुबन्धित भएपछि उनकी आमा रिना ढकालले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया दिएकी छन्।
उनले लेखेकी छन्, ‘छोरी जम्मा सात महिनाकी हुँदा नै मैले उसलाई नाटकमा खेलाएँ। जहाँ-जहाँ मेरो स्टेज कार्यक्रम हुन्थ्यो, म उसलाई पनि सँगै लिएर जान्थेँ। मनमनै एउटा सपना बोकेकी थिएँ—एक दिन मेरी छोरीलाई कुशल कलाकार बनाउँछु।’
उनले अगाडि लेखेकी छन्, ‘यो त केवल सुरुवात हो, अझै धेरै टाढा जानु छ, अझै धेरै सपना पूरा गर्न बाँकी छ। आज एउटा ढोका खुलेको छ, अब मेरी छोरीले आफ्नै मेहनत, प्रतिभा र लगनले आफ्नो छुट्टै पहिचान बनाउने छे। म उसको हरेक सपनाको पछाडि उभिएर, हरेक पाइला-पाइलामा उसको साथ दिनेछु। अब तिम्रो यात्रा सुरु भएको छ। यो सुरुवात हो, अन्त्य होइन। अझै धेरै सपना छन्, अझै धेरै उडान बाँकी छ। भगवान्लाई हृदयदेखि नै धेरै-धेरै धन्यवाद। आमा सधैँ तिम्रो साथमा हुनेछिन्।’
असोजको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म भोलानाथ कटवालको लगानीमा निर्माण हुनेछ। हाल फिल्मको प्रि–प्रोडक्सनको काम तीव्र रूपमा भइरहेको छ। फिल्मको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन्।