
‘सोल्टिनी’सिनेमाको हाल धमाधम प्रि-प्रोडक्सन चलिरहेको छ।
अर्जुन सुवेदीले निर्देशन गर्ने सिनेमा यही पुसको अन्तिमबाट फ्लोरमा जाने योजनामा रहेको छ । यो सिनेमामा निर्देशक सुवेदीले कलाकारहरूको बलियो लाइनअप तयार गरेका छन् ।
उनको यो सिनेमाले फरक जातीय पृष्ठभूमिका दुई पात्रको प्रेमकथा प्रस्तुत गर्नेछजसमा अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूको अभिनय रहनेछ।
यही तयारीकाबीच आइतबार सिनेमाको भाव झल्काउने एक पोस्टर सार्वजनिक गरिएको छ । सो पोस्टरमा प्रकाश र परीक्षालाई प्रस्तुत गरिएको छ ।
पोस्टरमा उनीहरूलाई भावुक मुद्रामा देखाइएको छ, जसले उनीहरूबीचको प्रेम र वियोगको भाव व्यक्त गर्दछ।
सिनेमामा प्रकाशले ‘भीमसेन पोखरेल’ र परीक्षाले ‘दिलासा राई’को भूमिका निभाउनेछन्।
भोजपुरको एक गाउँको परिवेशमा छायांकन हुने ‘सोल्टिनी’ले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयताविरुद्धको आवाज उठाउँदै दुई प्रमुख पात्रको प्रेमकथा प्रस्तुत गर्ने निर्देशक सुवेदीको भनाइ छ ।
सिनेमामा प्रकाश र परिक्षाका अलवा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको अभिनय पनि रहनेछ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यस सिनेमाका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन्।
सुशन प्रजापतिको छायांकनमा आधारित यस सिनेमाका गीतहरूमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले संगीत दिनेछन्।
रेजिना बिस्ट र संसार चौलागाईं निर्माता रहेको सिनेमा २०८२ साल असोज ३ गते, अर्थात् संविधान दिवसको दिन रिलिज हुने बताइएको छ।