शुभसाइतसँगै पल–अञ्जनाले सुरु गरे ‘यानीमाया’को छायांकन

0 Shares

काठमाडौं । अभिनेता पल शाहको निर्माणमा तयार हुन लागेको फिल्म ‘यानीमाया’को छायांकन शुभसाइतसँगै सुरु भएको छ। गागलफेदीस्थित फिल्म स्टुडियोबाट फिल्मको छायांकन सुरु गरिएको हो। निर्माण पक्षका अनुसार फिल्मको छायांकन ३५ दिनमा सक्ने लक्ष्य राखिएको छ।

छायांकन सुरु गर्नुअघि निर्माण टिमले पूजा गर्दै शुभसाइत गरेको थियो। ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा पल शाह र अञ्जना मगर मुख्य भूमिकामा छन्।

फिल्ममा शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ। शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारका रूपमा देखिनेछन्।

चन्द्र ज्योती आले र पल शाहको लगानीमा निर्माण हुने फिल्ममा नवराज उप्रेतीले छायांकन, कुमार महर्जनले एक्सन, गिरिराज घिमिरेले मुख्य सहायक निर्देशन र भूपेन्द्र अधिकारीले सम्पादन सम्हाल्नेछन्।

फिल्मको निर्माण व्यवस्थापन विशाल कार्कीले गर्नेछन्। रेनिश फागोले कलर सम्पादन, राजु लामा र सञ्जु ढकालले मेकअप तथा हेयर र आशिष पौडेलले पोशाक डिजाइन सम्हाल्नेछन्।

सामाजिक प्रेमकथामा आधारित ‘यानीमाया’लाई आगामी फागुन ७ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा निर्माण पक्षले गरेको छ। फिल्मको पहिलो चरणमा काठमाडौंमा १० दिन छायांकन हुनेछ भने त्यसपछि टिम पर्वत प्रस्थान गर्नेछ।

निर्माता तथा अभिनेता पल शाहले फिल्म निर्माणको अनुभव आफूका लागि फरक र विशेष रहेको बताउँदै दर्शकमाझ उत्कृष्ट फिल्म प्रस्तुत गर्ने लक्ष्य रहेको बताए।

सम्बन्धित समाचार

सबै