‘कार्की साइँला’को टिजरमा ७ दिनभित्र बिहे गर्ने जितु नेपालको अठोट

0 Shares

काठमाडौं — असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कार्की साइँला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। नागपञ्चमीको अवसर पारेर भदौ १ गते मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो।

टिजरमा मुख्य पात्र कार्की साइँलाको भूमिकामा रहेका जितु नेपालको जीवन संघर्ष, सामाजिक हेपाइ र विवाहको दबाबलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। भारी बोकेर जीविका चलाउँदै आएका कार्की साइँलालाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि उनले सात दिनभित्र विवाह गरेर देखाउने अठोट लिन्छन्। यही घटनाले फिल्मको कथालाई अघि बढाउने संकेत टिजरले गरेको छ।

टिजरमा जितु नेपालसँगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा र मान्शी शर्मालगायत कलाकार देखिएका छन्।

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्मको कथा डम्बर राईले लेखेका हुन्। शंकर धिताल र सबिन अधिकारीले पटकथा तथा संवाद तयार पारेका छन्।

फिल्ममा बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको छ भने अनन्त राई कार्यकारी निर्माता हुन्। दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको फिल्मको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

फिल्मको प्रोडक्सन म्यानेजमेन्ट सीबी भण्डारीले सम्हालेका छन् भने रबी केसीले शृंगारको जिम्मेवारी लिएका छन्। पोस्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ।

मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको फिल्मको वितरण जिम्मेवारी कुबेर फिल्म्सले लिएको छ।

‘कार्की साइँला’ असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै