काठमाडौं — बलिउडका चर्चित गायक नवजोत आहुजा नेपाल आएका छन्। उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन्। आहुजाले बुधबार राति ठमेलस्थित क्लब नोभामा विशेष सांगीतिक प्रस्तुति दिनेछन्।
क्लब नोभाको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा आहुजाले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’सहित अन्य लोकप्रिय गीत प्रस्तुत गर्नेछन्।
आहुजाको सांगीतिक करिअरको चर्चित गीतमध्ये ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ पनि एक हो। यो गीत उनको ‘खत’ एल्बममा समावेश छ। यसबाहेक ‘तू ही हूँ’, ‘खुद से मोहब्बत’, ‘इंतज़ार’, ‘मेरे हो तुम’ र ‘चले गए’लगायत उनका गीत पनि चर्चित छन्।
नेपाल पहिलोपटक आएका आहुजाले नेपाली दर्शकमाझ प्रस्तुति दिन आफू उत्साहित रहेको बताए। नेपाल आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली संस्कृति र संस्कार आफूलाई मन पर्ने बताए।
“म पहिलोपटक नेपाल आएको हुँ। मलाई नेपाल मन पर्छ। नेपाली संस्कार र संस्कृति राम्रो लाग्छ। नेपाली दर्शकमाझ आफ्नो प्रस्तुति दिन म निकै उत्सुक छु,” उनले भने।
आहुजाले आफू नेपाली संगीत पनि सुन्ने गरेको बताए। नेपाली संगीतकारबाट गीत गाउने प्रस्ताव आए आफू सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।
नेपालमा उनको बसाइ तीन दिनको हुनेछ। यस अवधिमा उनले काठमाडौंका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
क्लब नोभाको वार्षिकोत्सव कार्यक्रम बुधबार राति ९ बजे सुरु हुनेछ। क्लबका संस्थापक विशाल तुलाचनका अनुसार पहिलो वार्षिकोत्सव भएकाले कार्यक्रममा आमन्त्रित पाहुनालाई प्राथमिकता दिइएको छ।
“हामीले पहिलोपटक नोभाको सेलिब्रेसन गर्न लागेका हौँ। कार्यक्रममा दर्शकभन्दा आमन्त्रित पाहुनालाई बढी प्राथमिकता दिएका छौँ,” तुलाचनले भने, “करिब ९० प्रतिशत स्थान आमन्त्रित पाहुनाका लागि र १० प्रतिशत टिकट बिक्रीका लागि छुट्याइएको छ।”
उनका अनुसार कार्यक्रममा नवजोत आहुजाको मात्रै सांगीतिक प्रस्तुति रहनेछ।