डा. रणजित कुमार झाको ‘न गाँस्थे म प्रित’ सार्वजनिक

0 Shares

काठमाडौं — गायक, संगीतकार तथा गीतकार एवं वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत **‘न गाँस्थे म प्रित’**को म्युजिक भिडियो सार्वजनिक भएको छ।

आइतबार काठमाडौंको न्यूरोडस्थित जय नेपाल हलमा आयोजित कार्यक्रममा अभिनेता, गायक तथा संगीतकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

फिल्मी गीतको शैलीमा तयार गरिएको गीतले प्रेम, आकर्षण र भावनात्मक सम्बन्धका अव्यक्त अनुभूतिलाई प्रस्तुत गर्छ। ‘जीवन पथ–२’ एल्बममा समावेश गीतमा डा. झाकै शब्द, संगीत र स्वर रहेको छ। पबिधान खालिङले एरेन्जमेन्ट गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

गीतको भिडियोमा सोहल्या झा र सुरेश कोहलीलाई प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन, कथा तथा कोरियोग्राफी कबिराज गहतराजले गरेका छन्। रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन, कलर र जीएफएक्स छ। मेकअप सरोज पाण्डेको तथा प्रोडक्सन सूर्य ओलीको रहेको छ।

गीत सार्वजनिक कार्यक्रममा डा. झाले चिकित्सा पेसासँगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको बताए। ‘जीवन पथ–२’ अन्तर्गत सार्वजनिक गरिएको यो गीतमार्फत आफूले मनमा रहेका अव्यक्त प्रेमिल भावनालाई संगीतमा उतार्ने प्रयास गरेको उनको भनाइ छ।

निर्देशक तथा कोरियोग्राफर गहतराजले गीत सुन्नासाथ आफू कल्पनाको संसारमा पुगेको र त्यही भावनालाई आधार बनाएर भिडियो तयार गरेको बताए।

अध्ययनका क्रममा भारतमा रहेकी सोहल्या झाले भिडियो सन्देशमार्फत आफूले करिब ६ वर्ष सिकेको भरतनाट्यमको अनुभव भिडियोमा उपयोग भएको बताइन्। उनले बुवाको गीतको भिडियोमा अभिनय गर्न पाउँदा खुसी लागेको पनि बताएकी छन्।

अर्का कलाकार सुरेश कोहलीले भिडियोमा काम गर्दा फिल्मी गीत र फिल्मी शैलीको भिडियोको अनुभव लिन पाएको बताए।

कार्यक्रममा गायक राजेशपायल राईले डा. झाको गायन प्रतिभा आफूले नजिकबाट चिन्ने अवसर पाएपछि उनको क्षमता आफूले सोचेभन्दा निकै उत्कृष्ट रहेको बताए। प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले भने डा. झाको नसानसामा नै संगीत रहेको टिप्पणी गरे।

‘न गाँस्थे म प्रित’ डा. रणजित कुमार झाको आधिकारिक युट्युब च्यानलसँगै विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध छ। कार्यक्रममा डा. झाको परिचयात्मक भिडियोसँगै उनका आगामी गीत ‘साथी तँ रक्सी नखा’ र **‘रातकी रानी’**को भिडियो ट्रेलरसमेत सार्वजनिक गरिएको थियो।

चिकित्सा र संगीतलाई समानान्तर रूपमा अघि बढाउँदै आएका डा. झाले बंगलादेशबाट एमबीबीएस तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जबाट एमडी गरेका छन्। उनले भारतको अपोलो अस्पतालबाट मधुमेह र मुटुसम्बन्धी दुई विषयमा फेलोसिपसमेत गरेका छन्।

सप्तरीको ग्रामीण क्षेत्रस्थित कल्याणपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रबाट चिकित्सकीय सेवा सुरु गरेका डा. झाले जिरी अस्पताल दोलखा, प्रादेशिक अस्पताल लहान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज हुँदै हाल वीर अस्पतालमा सेवा दिइरहेका छन्। २१ वर्षे चिकित्सकीय सेवाको अवधिमा उनले करिब नौ वर्ष विभिन्न अस्पतालको नेतृत्वसमेत सम्हालेका छन्।

संगीतमा भने उनको यात्रा तीन दशक लामो छ। गीत लेख्ने, संगीत भर्ने र स्वर दिने गर्दै आएका डा. झा स्वास्थ्य तथा संगीत दुवै क्षेत्रमा योगदानका लागि विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन्।

स्वास्थ्य क्षेत्रमा योगदानका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री २०७७बाट विभूषित डा. झा २०७२ सालको भूकम्पपीडितका लागि गरेको सेवासहित विभिन्न सामाजिक तथा सांगीतिक योगदानका लागि पनि सम्मानित भएका छन्।

उनले नेपाली हिमालयन म्युजिक अवार्ड २०७२, १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०२५ अन्तर्गत म्युजिक खबर संगीतकर्मी सम्मान र निम अवार्ड संगीतकर्मी सम्मान २०२५लगायत विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

सम्बन्धित समाचार

सबै