होस्टेल ३’ ले ४९ दिनको छायांकन समाप्त, नयाँ रिलिज मिति चाँडै घोषणा हुने

0 Shares

हप्तादिनको छायाँकन बाँकी राख्दै  ‘होस्टेल ३’ सिनेमाले आफ्नो ४९ दिनको छायाँकन कार्यलाई विराम लगाएको छ।

केही कलाकारहरूको ‘बडी ट्रान्सफर्मेसन’ (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको छायांकन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिएका छन्।

अहिले सिनेमाको पोस्ट-प्रोडक्सन चरणमा काम भइरहेको छ। यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि सो मितिमा रिलिज नहुने भएपछि सिनेमाको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जानकारी निर्माण टिमले दिएको छ।

शंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमामा कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह-निर्माताको रूपमा रहेका छन्।

‘होस्टेल ३’ सुपरहिट सिनेमाको ‘होस्टेल’ शृङ्खलाको तेस्रो सिनेमा हो। यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ। यसको तेस्रो शृङ्खला पनि नयाँ कलाकारहरूको लागि नेपाली सिनेमा उद्योगमा प्रवेश गर्ने महत्त्वपूर्ण सिनेमाको रूपमा लिइएको छ।

सिनेमामा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गरेको हो। ‘होस्टेल ३’को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक कँडेलकै हो। सिनेमामा अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफी, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन्।

 

सम्बन्धित समाचार

सबै