काठमाडौं । निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बराल अनुबन्ध भएका छन् । सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजय फिल्मको स्टारकास्टमा थपिएका हुन् ।
निर्देशक चौधरीले फिल्मको लाइनअपलाई थप बलियो बनाउने क्रममा विजयलाई अनुबन्ध गरिएको बताए।
“फिल्मको लाइनअपलाई बलियो बनाउने प्रयास जारी छ । यसैक्रममा हामीले विजय बराललाई लिएका छौँ,” सौरभले भने, “हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ।”
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा उपन्यासकार बुद्धिसागरले कथा तथा पटकथा लेखेका छन् । निर्देशक चौधरीका अनुसार फिल्म ‘एपिक एक्सन ड्रामा’ हुनेछ ।
सौरभले यसपटक आफ्नो अघिल्ला फिल्मभन्दा ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन् । निर्माण पक्षले ‘द राइज अफ साम्राज्य’लाई नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्मका रूपमा प्रस्तुत गर्ने दाबी गरेको छ ।
फिल्मको छायांकन आगामी साताबाट सुरु हुने तयारी छ । निर्माण टिमले ७० दिनको छायांकन तालिका बनाएको छ । फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ ।
फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् । विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् ।
मानकृष्ण महर्जन डीओपी रहेको फिल्ममा श्री श्रेष्ठ एक्सन डाइरेक्टर छन् । ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरकका रूपमा जोडिएका छन् ।