सुरेश थापाको ‘जुनी’को टिजर सार्वजनिक

0 Shares

काठमाडौं — सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा बनेको टेलिसिरियल ‘जुनी’को टिजर सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान कार्यक्रमबीच सिरियलको टिजर सार्वजनिक गरिएको हो।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रष्ट मिडिया प्रालिले पछिल्लो समय टेलिसिरियलमा सक्रिय कलाकार तथा स्रष्टालाई सम्मानसमेत गरेको थियो। श्रेष्ठले सम्मानित कलाकारलाई सम्मानपत्र प्रदान गरेका थिए।

सम्मानित हुनेमा निर्देशक दीपक आचार्य ‘काकु’, दमन रुपाखेती, ‘हर्के हल्दार’का निर्देशक इन्द्र डोङ लामा, कलाकार विनोद श्रेष्ठ, सुनिशा बजगाईं, बालकृष्ण ओली, सहिन प्रजापति, साम्या कार्की, अनिता बैजु, रामचन्द्र बोहरा, प्रशन्नसा कार्की, सरोज घिमिरेलगायत छन्।

सामाजिक कथामा आधारित ‘जुनी’को टिजरलाई सिनेमाको टिजरझैं प्रस्तुत गरिएको छ। सिरियलमा कमला घिमिरे र रञ्जित पौडेल मुख्य भूमिकामा छन्।

सिरियलमा विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला, बविन राई, युगज्योति क्रियासिल, रोहित कार्की, सुस्मा सिलवाल, राधा शाही ठकुरी, कमला न्यौपाने, अच्युत कार्की, सपना त्रिपाठीलगायत कलाकारको अभिनय छ। बाल कलाकारका रूपमा सोफिया त्रिपाठी र आदर्श कार्की छन्।

टिजर सार्वजनिक कार्यक्रममा निर्देशक थापाले आफूले अहिले चलिरहेका टेलिसिरियलको कथाभन्दा फरक शैलीमा ‘जुनी’ प्रस्तुत गर्न खोजेको बताए।

‘सिरियलमा ड्रामा एकदमै कम छ। वास्तविक कथा बढी छ। यो घटना सिरियलमा हुन्छ या हुँदैन भनेर बनाइएको कथा हो,’ उनले भने।

उनले अन्य सिरियलझैं ‘जुनी’लाई पनि दर्शकको साथ मिल्ने विश्वास व्यक्त गरे।

निर्देशक थापाका अनुसार सिरियलको पहिलो चरणमा ५२ एपिसोड प्रसारण हुनेछ। प्रसारण मिति भने सार्वजनिक गरिएको छैन। उनका अनुसार सिरियलको प्रसारण मिति छिट्टै घोषणा गरिनेछ।

प्रष्ट मिडिया प्रालिको प्रस्तुति रहेको सिरियलका निर्माता विज्ञान सापकोटा र सौगात छेत्री हुन्। मुख्य सहायक निर्देशकमा योगेश भण्डारी छन्।

सञ्जय राई र विष्णु भण्डारीले छायांकन गरेको सिरियलको सम्पादन तथा कलर विनोद बमले गरेका हुन्।

सिरियलको शीर्ष गीत निर्देशक सुरेश थापाकै शब्द, भीम बिसीको संगीत तथा संगीत संयोजनमा तयार गरिएको हो। गीतमा गायक सुरज पण्डित र गायिका अस्मिता अधिकारीको स्वर छ।

 

सम्बन्धित समाचार

सबै