‘हाम्रो सानो घर’बाट सुमन गजमेरको निर्देशन डेब्यु

0 Shares

काठमाडौं । नेपाली फिल्म निर्माणमा सक्रिय रे अफ आर्ट्स प्रालिले नयाँ फिल्म ‘हाम्रो सानो घर’ निर्माण गर्ने भएको छ। यस फिल्ममार्फत चर्चित लेखक सुमन गजमेरले निर्देशनमा डेब्यु गर्ने भएका छन्।

रे अफ आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन्। निर्माण पक्षका अनुसार ‘हाम्रो सानो घर’मा जेनेरेसन–जेड (Gen Z) पुस्ताको प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको मुख्य आधार बनाइएको छ।

प्रेमकथामा आधारित फिल्मले मनोरञ्जनसँगै जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई समेत प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्मका कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको छ।

रे अफ आर्ट्सले यसअघि निर्माण गरेको फिल्म ‘परिवार’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ। फिल्म निर्माणसँगै कम्पनीले म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत सक्रियता जनाउँदै आएको छ।

लेखकका रूपमा ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’ र ‘शेर्वा’ लगायतका फिल्ममा काम गरिसकेका गजमेरले ‘हाम्रो सानो घर’मार्फत निर्देशनमा नयाँ यात्रा सुरु गर्न लागेका हुन्।

नयाँ पुस्ताको प्रेम र सामाजिक यथार्थलाई फरक शैलीमा प्रस्तुत गर्ने तयारी गरिएको फिल्मको घोषणासँगै नेपाली फिल्म क्षेत्रमा यसको चर्चा सुरु भएको छ।

सम्बन्धित समाचार

सबै