पोखरा । अभिनेता दयाहाङ राईले फिल्म ‘पेन्सन पट्टा’ नेपाली समाज, परिवार र सम्बन्धसँग जोडिएको कथा भएको बताएका छन् । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मले दर्शकलाई आफ्नै जीवन र समाजसँग जोड्ने बताए ।
फिल्ममा दयाहाङले लाउरे परिवारसँग सम्बन्धित पात्रको भूमिका निर्वाह गरेका छन् । यद्यपि, आफ्नो वास्तविक जीवनमा भने लाउरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध नरहेको उनले स्पष्ट पारे । नेपाली समाजमा भने लाउरे परिवारका कथा आफूले नजिकबाट देखेको उनको भनाइ छ ।
“लाउरेसँग मेरो पारिवारिक सम्बन्ध छैन । तर छिमेक र नेपाली समाजमा लाउरे परिवारका कथा धेरै छन्,” उनले भने ।
दयाहाङका अनुसार ३०–४० वर्षअघिको नेपाली समाजमा ‘पेन्सन पट्टा’को विशेष महत्व थियो । भूतपूर्व गोर्खालीहरूले गरेको योगदान, उनीहरूको पेन्सन र त्यसको परिवारमा पर्ने प्रभाव फिल्मको कथाको महत्वपूर्ण आधार बनेको छ ।
तर फिल्मको कथा पेन्सनमै सीमित नरहेको उनले बताए । हराएको पेन्सन पट्टा खोज्ने घटनालाई केन्द्रमा राख्दै फिल्मले प्रेम, भावना, पारिवारिक सम्बन्ध र सामाजिक संरचनाका विभिन्न पक्षलाई प्रस्तुत गरेको उनको भनाइ छ ।
“पेन्सन पट्टा हरेक समाजको कथा हो । यसले इमोसन, प्रेम र समाजको स्ट्रक्चरलाई बोल्छ,” दयाहाङले भने, “हराएको पेन्सन पट्टा खोज्नु र त्यससँगै समाजको परिवेशलाई बोल्नु फिल्मको विशेषता हो ।”
फिल्ममा काम गर्ने क्रममा नेपाली समाजलाई चरित्रमार्फत बुझ्ने अवसर पाएको उनले बताए । उनका अनुसार ‘पेन्सन पट्टा’ सरल शैलीमा प्रस्तुत गरिएको भए पनि यसको कथा सामाजिक रूपमा गहिरो छ ।
“फिल्मको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु । ‘पेन्सन पट्टा’ निकै सरल रूपमा प्रस्तुत गरिएको कथा हो । हरेक वर्गका मानिसले बुझ्न सक्छन् र आफ्नो घरको व्यथा मान्न सक्छन्,” उनले भने ।
लेखक तथा निर्देशक माओत्से गुरुङले आमाको पेन्सन प्राप्त गर्न नसक्दा नेपाली समाजका धेरै परिवारले भोग्ने समस्यालाई फिल्मको कथाको आधार बनाएका छन् । गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने पारिवारिक समस्या, सम्बन्धको उतारचढाव र सामाजिक परिवेश फिल्ममा समेटिएको छ ।
“आमाको पेन्सन नमिल्दा समाजका धेरै परिवारमा समस्या छ । त्यसलाई फिल्ममार्फत प्रस्तुत गर्नुपर्छ जस्तो लाग्यो र कथा बन्यो,” गुरुङले भने, “यो आम समुदायको कथा हो । ‘पेन्सन पट्टा’ तपाईँ–हाम्रै समाजको विषयवस्तु हो ।”
फिल्ममा काम गरेपछि लेखनप्रति आफ्नो रुचि अझ बढेको दयाहाङले बताए । तर, तत्काल निर्देशनमा जाने तयारी भने नरहेको उनले स्पष्ट पारे ।
“लेखन मन पर्छ, तर आँट्न सकिरहेको छैन । अहिलेलाई काम नै गरौँ भन्ने लाग्छ,” उनले भने ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ र पञ्चसुब्बा गुरुङ (दिलु) लगायतका कलाकारको अभिनय छ ।
पोखराको ताङतिङ तथा आसपासका क्षेत्रमा छायांकन गरिएको ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।