काठमाडौं । स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा कलाकार प्रजल दुलाल मुख्य भूमिकामा अनुबन्धित भएका छन् । निर्देशक बलिराम चौहानले प्रजललाई मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएका हुन् ।
प्रजल जोडिएसँगै फिल्मका मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौहानले बताए । यसअघि रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् भने गुराँस ढकाल मुख्य अभिनेत्रीका रूपमा जोडिएकी छन् ।
प्रजलले यसअघि ‘बलिदान’, ‘बिमान’ र ‘अक्षरा’मा अभिनय गरिसकेका छन् । उनी हाल ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकनमा व्यस्त छन् ।
इटहरीमा जन्मिएका प्रजलले सानैदेखि रेडियोमा काम गरेका थिए । रेडियोमा काम गर्ने क्रममा उनले रंगमञ्चमा अभिनय यात्रा सुरु गरे । कलालय इटहरीको स्कुल थिएटरमा उनले सोनु जयन्ती र प्रज्वल पराजुलीसँग अभिनय सिकेका हुन् ।
उनले कलालय इटहरी, आरोहण गुरुकुल, पश्चिम बंगाललगायतका स्थानमा आयोजित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा दुई दर्जनभन्दा बढी नाटकमा अभिनय, लेखन तथा निर्देशन गरिसकेका छन् । उनले दर्जनौं सर्ट फिल्म, म्युजिक भिडियो, सिरिज र टीभीसी विज्ञापनमा समेत अभिनय गरेका छन् ।
त्यसैगरी, नीर शाह निर्देशित ‘कमला मिस’को पटकथा तथा संवाद लेखनमा उनले नीर शाह र सुगम दुलालसँग सहकार्य गरेका थिए ।
‘ल्याङ्ग ल्याङ्ग’ले जेनेरेसन जेड (Gen Z) पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्ने निर्देशक चौहानले बताए । युवापुस्ताको मनोविज्ञान तथा समसामयिक विषयलाई पर्दामा उतार्ने तयारी रहेको उनको भनाइ छ ।
फिल्म असोजको पहिलो सातादेखि छायांकनमा जाने तयारीमा छ । हाल प्रि-प्रोडक्सनको काम भइरहेको निर्देशक चौहानले बताए । युवापुस्तालाई केन्द्रमा राखिएको फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ तय गरिएको छ ।
नेपाली युवापुस्ताले साथीभाइको समूहमा कुनै विषयमा हुने दबाब, तनाव वा झन्झटलाई जनाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई फिल्मले आफ्नो शीर्षक बनाएको हो । निर्देशक चौहानका अनुसार फिल्मले यही युवा मनोविज्ञान र उनीहरूको दैनिक जीवनका उतारचढावलाई कथाको केन्द्रमा राख्नेछ ।
फिल्मको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन् । भोलानाथ कटुवालको लगानीमा निर्माण हुने फिल्मले समकालीन युवा पुस्ताको जीवन र उनीहरूले भोगिरहेका सामाजिक तथा मानसिक दबाबलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।