विदेशमा बिक्यो नीताको ‘पार्वती’, अमेरिका र अस्ट्रेलियाको प्रदर्शन तय

0 Shares

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला अमेरिका र अस्ट्रेलियाका वितरकले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

सार्वजनिक गीत, टिजर तथा अन्य प्रचार सामग्रीले विदेशमा रहेका नेपाली दर्शकमाझ चासो बढाएपछि अन्तर्राष्ट्रिय वितरकले फिल्मको अधिकार खरिदमा रुचि देखाएको निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षका अनुसार यसै साता अस्ट्रेलिया र अमेरिकाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री भएको हो । अस्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्टले आगामी सेप्टेम्बर ४ देखि ‘पार्वती’ प्रदर्शन गर्नेछ । अस्ट्रेलिया प्रदर्शनको एक सातापछि, सेप्टेम्बर ११ देखि माया डिजिटल यूएसएले अमेरिकाका विभिन्न सिनेमा हलमा फिल्म रिलिज गर्नेछ ।

निर्माता हरिहर अधिकारीले आकर्षक रकममा अमेरिका र अस्ट्रेलियाको प्रदर्शन अधिकार बिक्री गरिएको जानकारी दिए । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने अभियानमा विदेश प्रदर्शनले थप उत्साह दिएको बताउँदै उनले प्रदर्शन हुने शहर र हलहरूको विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने बताए ।

फिल्मको मुख्य भूमिकामा निर्देशक नीता ढुङ्गाना स्वयं छिन् । उनीसँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ ।

शिवम् अधिकारीको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन तथा टिजर र ट्रेलर कट र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेका छन् भने हरिहर अधिकारी निर्माता हुन् ।

नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले फिल्म वितरण गर्नेछन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

फिल्ममा समावेश ‘तुनाको रेल’ र ‘दिदी भाइ’ गीत पछिल्लो समय चर्चामा छन् । नेपालमा ‘पार्वती’ भदौ १२ गते शुक्रबारदेखि सिनेमा हलमा प्रदर्शनमा आउनेछ ।

सम्बन्धित समाचार

सबै