काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ । शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ ।
तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको लोक फ्लेबरको गीतले पछिल्लो समय तीज संस्कृति र परम्परा मनाउने पर्वभन्दा पनि देखावटीको माध्यम बन्दै गएको यथार्थलाई प्रस्तुत गरेको छ । विशेषगरी अरूको देखासिकी गर्दै महँगा पहिरन र गहना लगाउने बढ्दो प्रवृत्तिलाई गीतले व्यंग्यात्मक रूपमा उठाएको छ ।
आफूले पनि अरूले जस्तै गहना र लुगा लगाउनुपर्ने तथा त्यसका लागि श्रीमानसँग माग गर्ने प्रवृत्तिलाई गीतको कथ्यमा समेटिएको छ । नाच्न मिल्ने बिटमा तयार पारिएको गीतमा श्रीमतीको माग पूरा गरिदिने श्रीमानको वाचा पनि प्रस्तुत गरिएको छ ।
फिल्मका मुख्य कलाकारहरू फिचर्ड रहेको भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् । भिडियोमा दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहले नृत्य गरेका छन् । भिडियोमा दर्जनौँ कोरस कलाकारसमेत सहभागी छन् ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय छ ।
हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ फिल्मका निर्माता हुन् । ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
आठ वर्षपछि रेखा थापा निर्देशनमा फर्किएको फिल्म भदौ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त शिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप तथा चुडामणि (सीएम) प्रोडक्सनमा छन् ।
फिल्मको देशव्यापी वितरणको जिम्मा रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् ।