काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भईन भने’ले डिजिटल प्लेटफर्ममा उत्साहजनक सुरुवात गरेको छ । सार्वजनिक भएको २४ घण्टामै गीतले फिल्मकै अघिल्लो गीत ‘दिलमा ठाउँ छ’को डिजिटल ट्रेन्डिङ रेकर्डलाई पछाडि पारेको निर्माण पक्षले जनाएको छ ।
रोमान्टिक गीत ‘म भईन भने’ले २४ घण्टामा युट्युबमा ४ लाखभन्दा बढी भ्युज पाएको छ भने टिकटकमा २० हजारभन्दा बढी भिडियो बनेका छन् । यसअघि ‘दिलमा ठाउँ छ’ले सोही अवधिमा टिकटकमा करिब १० हजार भिडियो पाएको थियो ।
निर्माण पक्षका अनुसार ‘म भईन भने’को ट्रेन्डिङले फिल्मप्रति दर्शकको बढ्दो चासो देखाएको छ । पछिल्लो समय नेपाली फिल्ममा रोमान्टिक गीत कम आइरहेको अवस्थामा यो गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको दाबी गरिएको छ ।
यसअघि सार्वजनिक ‘दिलमा ठाउँ छ’ लोक स्वादमा आधारित गीत हो । गीतले युट्युबमा हालसम्म करिब १ करोड भ्युज पाइसकेको छ । टिकटक तथा इन्स्टाग्राम रिल्समा यसको हुक स्टेपसमेत लोकप्रिय बनेको थियो ।
‘म भईन भने’मा फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा उदय राज पौडेलको संगीत एरेन्जमेन्ट छ ।
गीतको भिडियो भारतका दार्जिलिङ, मिरिक र सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो । उत्सव दाहालको छायांकन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा पारस बम ठकुरी ‘कुल ब्वाइ’ र दिव्या रायमाझीको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ । उनीहरूको केमेस्ट्रीलाई दर्शकले रुचाएको निर्माण पक्षको भनाइ छ ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन् । दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता हुन् ।
नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक छन् । योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशक हुन् ।
काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले फिल्म वितरण गर्नेछन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।