काठमाडौं — लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिन्छ। तर यही जीवनसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडालाई केन्द्रमा राखेर बनेको फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएको छ।
माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्मको ट्रेलरले परिवारभित्र वर्षौंदेखि लुकेको एउटा रहस्यलाई कथाको केन्द्रमा राखेको संकेत गर्छ।
ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम भेटिएपछि कथा अघि बढेको देखिन्छ। त्यसपछि परिवारमा वर्षौंदेखि चर्चा र स्मरणबाटै ओझेलमा रहेकी जेठी आमाको खोजी सुरु हुन्छ।
जेठी आमाको खोजी केवल एउटा व्यक्तिसम्म सीमित नरही लाहुरे परम्पराले परिवार, सम्बन्ध र समाजमा पारेको प्रभावको तह खोल्ने यात्राका रूपमा प्रस्तुत गरिएको छ। पेन्सनको अधिकारसँग जोडिएको यो खोजी पारिवारिक विगत, सम्बन्धको दूरी र पहिचानको प्रश्नसँग पनि गाँसिएको देखिन्छ।
ट्रेलरले फिल्मको दृश्यभाषा र प्रस्तुति पनि प्रभावशाली रहेको संकेत गर्छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ले लाहुरे जीवनको बाहिरी चमकभन्दा पर रहेको पारिवारिक र भावनात्मक संसारलाई पर्दामा ल्याउने अपेक्षा गरिएको छ।
फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ र कुबिना गुरुङको अभिनय छ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले निर्माण गरेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन्। सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन्।
फिल्मको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन्। निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।
सुरज तामु र केर डी. कोइन्च लिनुच सह-लेखक रहेको फिल्ममा राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा छन्।
‘पेन्सन पट्टा’लाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन्।