छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार

0 Shares

काठमाडौं — नायक पल शाहको निर्माणमा धमाधम छायांकन भइरहेको फिल्म ‘यानीमाया’को प्रदर्शन अधिकार ६ वटा देशमा बिक्री भएको छ। निर्माणपक्षका अनुसार फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्याण्डका लागि बिक्री गरिएको हो।

निर्माणपक्षले अन्य देशमा पनि फिल्म प्रदर्शनका लागि कुराकानी भइरहेको जनाएको छ। ती बजारमा पनि छिट्टै सम्झौता हुने अपेक्षा गरिएको छ।

फिल्म ‘मोहर’पछि विदेशी बजारमा पल शाहको लोकप्रियता बढेको निर्माणपक्षको दाबी छ। उनले अभिनय गरेको फिल्म ‘आ बाट आमा’ले पनि विदेशी बजारमा राम्रो व्यापार गरेको थियो। घोषणा भएदेखि नै चर्चामा रहेको ‘यानीमाया’ अहिले ४० दिनको छायांकन सेड्युलसहित निर्माण भइरहेको छ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ। शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारका रूपमा फिल्ममा छन्।

चन्द्र ज्योती आले र पल शाहको लगानी रहेको फिल्ममा नवराज उप्रेती डीओपी, कुमार महर्जन एक्सन निर्देशक, गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र भूपेन्द्र अधिकारी सम्पादकका रूपमा छन्।

विशाल कार्कीले निर्माण व्यवस्थापन सम्हालेको फिल्ममा रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर र आशिष पौडेलको पोशाक डिजाइन रहेको छ।

सामाजिक प्रेमकथामा आधारित ‘यानीमाया’ फागुन ७ गतेदेखि प्रदर्शनमा आउने घोषणा निर्माणपक्षले गरेको छ। हाल ‘गुन्डु’को छायांकन पूरा गरेपछि ‘यानीमाया’को टोली पर्वत जाने तयारीमा छ।

सम्बन्धित समाचार

सबै