चितवन । नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ प्रदर्शनको संघारमा छ। भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर दर्शकमाझ उत्साह देखिएको छ।
प्रदर्शनपूर्व देश दौडाहामा रहेको फिल्मको टोली मंगलबार चितवन पुगेको हो। चितवनमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक, कथाकार तथा अभिनेत्री नीता ढुंगानाले अटिजमको कथा बोकेको ‘पार्वती’ले दर्शकलाई फरक स्वाद दिने बताइन्।
अटिजम भएकी एक महिलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा दिदी–भाइबीचको प्रेम, आत्मीयता र संघर्षलाई प्रस्तुत गरिएको छ। फिल्ममा नीताले अटिजम भएकी महिलाको भूमिका निर्वाह गरेकी छन् भने अशोक दर्जीले उनका भाइको भूमिका निभाएका छन्।
नीताले अशोकले निर्वाह गरेको भाइको चरित्रमा अन्य कलाकारलाई कल्पना गर्नसमेत नसकिने बताइन्। फिल्म प्रदर्शनपछि दर्शकले पनि अटिजमको विषयलाई गम्भीर रूपमा मनन गर्ने उनको विश्वास छ। उनले अटिजम भएकी महिलाको भूमिका निर्वाह गर्न लामो समयसम्म यस विषयमा अध्ययन गरेको बताइन्।
अटिजम संवेदनशील विषय भएकाले लामो समय अध्ययन र तयारी गरेर आफूले उक्त पात्रलाई पर्दामा उतारेको नीताको भनाइ छ। अटिजम भएकी महिलाको दैनिक जीवनलाई नजिकबाट नियालेर फिल्म निर्माण गरिएको उनले बताइन्।
नीताका भाइको भूमिकामा रहेका अशोक दर्जीले ‘पार्वती’ सबैले हेर्नुपर्ने सामाजिक कथा बोकेको फिल्म भएको बताए। निर्माता हरिहर अधिकारीले फिल्मको टिजर, ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको बताए। उनले फिल्म प्रदर्शनमा आएपछि यसको कथाले नै सबै कुरा बोल्ने बताए।
फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।