‘माया भनेकै यस्तो होला’को रिलिज स्थगित

0 Shares

काठमाडौं । अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको फिल्म **‘माया भनेकै यस्तो होला’**को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको छ।

निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रा.लि.ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिएको हो।

निर्माण पक्षका अनुसार गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै तत्काल फिल्म प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्षमा टोली पुगेको हो।

निर्माता दिल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा देश शोक र पीडामा रहेका बेला मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानेर प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ।

भदौको प्रदर्शन मिति स्थगित भएसँगै अब फिल्म नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने भएको छ।

निर्माण पक्षले नयाँ प्रदर्शन मितिबारे मुख्य वितरकहरूलाई औपचारिक जानकारी गराइसकेको जनाएको छ। अचानक रिलिज मिति परिवर्तन गर्नुपरेका कारण दर्शक तथा सम्बन्धित सरोकारवालामा पर्न गएको असुविधाप्रति निर्माण टोलीले क्षमासमेत मागेको छ।

रेखा थापाको निर्देशनमा बनेको फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्।

फिल्ममा लक्ष्मी गिरी, रवि डंगोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।

फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावना र नेपाली परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप तथा चुडामणी (सीएम) प्रोडक्सनमा छन्।

सम्बन्धित समाचार

सबै