काठमाडौं । निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा चर्चित संगीतकार एसडी योगी अनुबन्धित भएका छन् ।
निर्माण पक्षले सामाजिक सञ्जालमार्फत योगी फिल्मको संगीतकारका रूपमा अनुबन्धित भएको जानकारी दिएको हो ।
फिल्मको निर्माण तयारी अन्तिम चरणमा पुगेको छ । निर्माण पक्षका अनुसार फिल्म छिट्टै फ्लोरमा जानेछ । फिल्मका प्रमुख कलाकार तथा प्राविधिकलाई समेत अनुबन्धित गरिसकिएको निर्देशक श्रेष्ठले बताएका छन् ।
फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने पटकथा चानस पुन मगरको रहेको छ ।
‘कंगाल करोडपति’का प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने अनिलकुमार बुढाथोकी निर्माता रहेका छन् । छिरिङ तामाङ, प्रविन राई र प्रवेश सापकोटा सहनिर्माताका रूपमा छन् । रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन् ।
फिल्ममा मुकुन भुसाल, सलिना तामाङ, रेयर राई, रक्षा थापा, मञ्जिलकुमार तथा हिँउवाला गौतमलगायतका कलाकारको अभिनय रहनेछ । चर्चित कलाकार र प्राविधिक टोलीको सहभागिताले ‘कंगाल करोडपति’प्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ ।