काठमाडौं — राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ।
प्रविण आचार्यको प्रस्तुतिमा बन्न लागेको फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायतका कलाकारको अभिनय रहनेछ।
सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुने फिल्म भदौ २९ गतेदेखि फ्लोरमा जाने तयारीमा छ। फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन् भने अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सहनिर्माताका रूपमा रहेका छन्।
रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर रहेका फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन्। संवाद तथा पटकथा चानस पुन मगरको रहेको छ।
सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ। एसडी योगी, निराजन राई र दिप्सन लिम्बूले फिल्ममा संगीत दिनेछन् भने प्रदीप लामा नृत्य निर्देशकका रूपमा रहेका छन्।
जीवन गौतम मुख्य सहनिर्देशक रहेको फिल्ममा सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशक छन्।
शुभ-मुहूर्तअघि निर्माणपक्षले हालै रसुवा, नुवाकोट र धादिङमा आएको बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।
निर्माणपक्षले बाढीपहिरो प्रभावितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणासमेत गरेको छ।
