‘तीनीहरू’को बक्सअफिस प्रदर्शन कस्तो छ ?

0 Shares

काठमाडौं । अविनाश विक्रम शाह निर्देशित फिल्म ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ले बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ। शनिबार दिनभरको वर्षा र रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण आवागमन प्रभावित भए पनि काठमाडौंका हलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको हो।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले शनिबार काठमाडौंका अधिकांश शोमा उच्च अकुपेन्सी कायम गरेको थियो। एक दर्जनभन्दा बढी शो हाउसफुल भएका थिए। पहिलो दिन प्राप्त सकारात्मक प्रतिक्रियाको प्रभाव दोस्रो दिन हलमा देखिएको निर्माण पक्षको भनाइ छ।

फिल्मका जानकार तथा मेकरहरूले सामाजिक सञ्जालमार्फत प्रशंसा गर्न थालेपछि त्यसको सकारात्मक प्रभाव बक्सअफिसमा देखिन थालेको निर्देशक शाहले बताए।

“वर्षा र बाढीको त्रास तथा प्रभावका बीच पनि शनिबार हलमा दर्शकको अकुपेन्सी धेरै देखियो। यो हाम्रा लागि सुखद पक्ष हो,” शाहले भने, “प्रतिकूल समयमा पनि दर्शकले दिएको साथले हामी उत्साहित छौँ।”

फिल्मले राम्रो वर्ड अफ माउथ पाइरहेकाले आगामी दिनमा दर्शकको संख्या अझ बढ्नेमा निर्देशक शाह विश्वस्त छन्। “अधिकांश दर्शकले सिनेमालाई राम्रो प्रतिक्रिया दिनुभएको छ। यसको प्रभाव आगामी दिनमा पक्कै देखिनेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने।

कान्ससहित विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भई अवार्डसमेत जितिसकेको ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ।

फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।

निर्देशक शाहकै पटकथा रहेको फिल्मको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले लेखेका हुन्। नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा फिल्म निर्माण गरिएको हो।

नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता छन्। प्रचण्डमान श्रेष्ठ, ब्राजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल सह–निर्माता छन्।

चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको फिल्ममा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माता छन्।

सम्बन्धित समाचार

सबै