
सुदीप भुपाल सिंहको निर्देशनमा बनेको सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’ को टिजर सार्वजनिक भएको छ।
यस सिनेमाबाट निर्देशक सिंह सात वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता चर्चित सिनेमाहरूको निर्देशन गरेका थिए।
टिजरको सुरुवात सिनेमाकी मुख्य कलाकार लक्ष्मी गिरीद्वारा वाचन गरिएको कविताको अंशबाट हुन्छ। टिजरमा लक्ष्मी गिरी र आशिर्वाद क्षेत्रीलाई गाउँतर्फ फर्किरहेको देखाइएको छ। ग्रामीण परिवेशमा आधारित यो सिनेमाले एउटा परिवारको कथालाई केन्द्रमा राखेर कथा भन्ने प्रयत्न गरेको देखिन्छ।
फिल्म रेञ्ज को ब्यानरमा निर्माण भएको यो सिनेमामा आशिर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, र रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
पारिवारिक कथामा आधारित यस सिनेमामा निर्देशक सिंह स्वयंको लेखन रहेको छ भने रुबी सेन सिंहले निर्माणको जिम्मेवारी सम्हालेकी छिन्। सिनेमाको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका हुन्।
सिनेमाका दृश्यहरू मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर, र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको हो।
सिनेमाका गीतहरूमा संगीतकार रञ्जित गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ। सिनेमाको प्रदर्शन मिति चाँडै घोषणा गरिने तयारी भइरहेको निर्देशक सिंहले बताएका छन्।