‘जदौ’को प्रेमगीत ‘तिमीसँग नबोली’मा कोसँग रोमान्स गर्दै छिन् नीति शाह?

0 Shares

काठमाडौं — प्रतीक्षित नेपाली फिल्म ‘जदौ’मा समावेश प्रेमगीत ‘तिमीसँग नबोली..’ आइतबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा अभिनेत्री नीति शाह र अभिनेता प्रभात पाल ठकुरी रोमान्टिक भावमा प्रस्तुत भएका छन्।

किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको संगीत छ। गीतको भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। अन्तरजातीय प्रेम सम्बन्धको विषय उठान गरिएको फिल्मको स्क्रिप्ट निर्देशक काजी लिम्बूले लेखेका हुन्।

टिजर सार्वजनिक भएसँगै दर्शकमाझ कौतुहलता बढाएको फिल्ममा नीति र प्रभातसँगै मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय छ।

यसअघि सार्वजनिक शीर्ष गीत ‘जदौ हजुर..’ ले दर्शक–स्रोताको ध्यान खिचिरहेका बेला निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो। सुन्दर लोकेसनमा छायांकन गरिएको नयाँ गीत पनि दर्शकमाझ लोकप्रिय हुने अपेक्षा निर्माता–निर्देशकले गरेका छन्।

श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको फिल्ममा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल सह-निर्माता छन्। सृजना शर्मा र मनिष शर्मा निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्माता हुन्। बिमला भण्डारी प्रोडक्सन हेड रहेकी छन्।

‘जदौ’ समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो। फिल्मलाई एनजिसिएन ग्रुपले देशभर वितरण गर्नेछ।

 

सम्बन्धित समाचार

सबै