काठमाडौं । नयाँ नेपाली फिल्म ‘अन्तिम दाउ’ औपचारिक रूपमा घोषणा गरिएको छ। निर्माण पक्षले दुई फरक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो।
फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्मलाई बिजु पार्कीले निर्देशन गर्नेछन्। यो उनको निर्देशन डेब्यू हो।
सार्वजनिक पोस्टरले ‘अन्तिम दाउ’ एक्सन–थ्रिलर जनरामा निर्माण हुन लागेको संकेत गर्छ। पहिलो पोस्टरमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान र पेमा दावा लामालाई एकै लाइनमा प्रस्तुत गरिएको छ। घना जंगल र पहाडी परिवेश देखाइएको पोस्टरमा कलाकारहरूको अनुहार चोट र रगतले भरिएको छ।
कलाकारहरूको गम्भीर र आक्रामक भावभंगिमाले फिल्ममा तीव्र द्वन्द्व हुने संकेत गर्छ। पोस्टरको दुवै छेउमा रहेका कविता नेपाली र निश्चल प्रधान भने रहस्यमयी मुस्कानमा देखिन्छन्, जसले उनीहरूको चरित्रप्रति थप कौतूहल जगाएको छ।
दोस्रो फर्स्टलुक पोस्टरले फिल्मको रहस्यलाई झन् गहिरो बनाएको छ। रातो ठाडो पट्टीमा ‘२०२७’ अंक राखिएको छ। यसले फिल्मको कथाको समय वा प्रदर्शनसँग सम्बन्धित कुनै संकेत दिएको हुनसक्ने देखिन्छ।
पोस्टरमा कविता नेपाली र निश्चल प्रधानलाई केन्द्रमा राखिएको छ भने विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामालाई तल्लो भागमा प्रस्तुत गरिएको छ। कविता र निश्चलको हाफ-बडी लुक्समा जबरजस्त हाँसो देखिन्छ भने अन्य चार कलाकारको अनुहारमा चोट र रगत देखाइएको छ।
फिल्ममा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहनेछ।
सह–निर्मातामा सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा छन्। कार्यकारी निर्मातामा रमेश शाही ठकुरी र शिशिर पार्की तथा प्रोजेक्ट एडभाइजरमा गजित विष्ट र सरिता गिरी रहेका छन्। प्रोडक्सन म्यानेजर सरोज श्रेष्ठ हुन्।
चिफ असिस्टेन्ट डिरेक्टरमा अनिश बुढाथोकी तथा असिस्टेन्ट डिरेक्टरमा मार्लोभ ढुंगाना, अनिता स्याङ्बो र विशाल बुढा छन्। कलरिस्ट कुणाल कुँवर, एक्सन निर्देशक राजु डोङ, भीएफएक्समा सज्जल लोप्चन तथा मेकअप र कस्ट्युम डिजाइनरमा ज्योति केसी छन्।
रामप्रसाद चौधरीको सम्पादन र संगम राईको डीओपी रहने फिल्मको वितरण श्रीराम बालाजी फिम्सले गर्नेछ। टौवा स्टुडियो पब्लिसिटी पार्टनरका रूपमा जोडिएको छ।
निर्माण पक्षका अनुसार फिल्मको छायाङ्कन छिट्टै सुरु हुनेछ।