काठमाडौँ । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म **‘कार्की साइँला’**को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले मंगलबार फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलर मुख्य पात्र कार्की साइँलाको जीवन वरिपरि केन्द्रित छ। जितु नेपालले निर्वाह गरेको कार्की साइँला गाउँमा भारी बोक्ने भरियाका रूपमा जीवन बिताइरहेको देखिन्छ।
ट्रेलरमा उनको विवाह, सन्तानप्रतिको चाहना र गाउँलेबाट हुने हेपाइलाई प्रस्तुत गरिएको छ। अरूका लागि लमीको भूमिका निर्वाह गर्ने कार्की साइँला आफैं भने प्रेम र पारिवारिक सुखको खोजीमा रहेको देखिन्छन्।
गाउँमा आएकी एक युवतीको भारी बोकेर सहयोग गरेपछि त्यसबापत पैसा लिन अस्वीकार गर्ने कार्की साइँला पछि उनै युवतीसँग प्रेममा पर्छन्। प्रियाना आचार्यले उक्त युवतीको भूमिका निर्वाह गरेकी छन्। ट्रेलरमा उनीहरूको प्रेम विवाह हुँदै सन्तान जन्मिएकोसम्मको कथा झल्काइएको छ।
फिल्मले पुरुषको भावनात्मक पक्षलाई समेत कथाको महत्वपूर्ण विषय बनाएको छ। महिलाले जहाँ पनि रुन सक्ने तर पुरुषले रुनका लागि एकान्त खोज्नुपर्ने सामाजिक मनोविज्ञानलाई ट्रेलरमा उठाइएको छ।
कार्की साइँलाको जीवनमा आउने उतारचढाव, समाजले गर्ने व्यवहार र उनले सामना गर्ने परिस्थितिले कथालाई कुन मोडमा पुर्याउँछ भन्ने कुरा भने फिल्म प्रदर्शनपछि नै खुल्नेछ।
फिल्ममा जितु नेपाल र प्रियाना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारको अभिनय छ।
डम्बर राईको कथामा बनेको फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले लेखेका हुन्। फिल्मको निर्देशन राजेन्द्र बस्नेतले गरेका छन्।
बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको फिल्मको यसअघि सार्वजनिक गीत **‘लग्यौ परान’**ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।
सिबि भण्डारी प्रोडक्सन म्यानेजर र रबी केसी शृङ्गारमा छन्। फिल्मको पोस्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गरेको हो। मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको फिल्मको वितरण कुबेर फिल्म्सले गर्नेछ।