काठमाडौं । यही शुक्रबार, भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म **‘बेहुली’**ले रिलिजअघि नै डिजिटल प्लेटफर्ममा उत्साहजनक प्रभाव देखाएको छ। आइतबार साँझ सार्वजनिक गरिएको फिल्मको ट्रेलरले २४ घण्टामै १० लाखभन्दा बढी भ्युज बटुलेको छ।
ट्रेलरले सार्वजनिक भएको १८ घण्टामै नेपालको युट्युब ट्रेन्डिङमा पहिलो स्थान हासिल गरेको थियो। नेपालमा मात्र नभई नेपाली दर्शकको बाक्लो उपस्थिति रहेका विभिन्न देशमा समेत ट्रेलर ट्रेन्डिङमा परेको निर्माण पक्षले जनाएको छ।
कुवेत, कतार, रोमानिया, साउदी अरब, पोर्चुगल, मलेसिया, दक्षिण कोरिया, जापान, यूएई र अस्ट्रेलियालगायत देशका युट्युब ट्रेन्डिङमा ट्रेलर पुगेको बताइएको छ।
ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ। विशेषगरी सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको अनस्क्रिन केमेस्ट्रीले दर्शकको ध्यान खिचेको छ।
त्यस्तै, सुशान्त कार्की प्रहरीको भूमिकामा प्रस्तुत भएका छन् भने कमेडियन पदम तामाङको हास्य शैली र सन्तोष बानियाको फरक अवतारले ट्रेलरमा थप कौतुहलता थपेको छ।
ट्रेलरले फिल्मको कथावस्तु, पात्र र सम्बन्धबीचको द्वन्द्वलाई लिएर दर्शकमाझ उत्सुकता बढाएको छ। ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र भ्युजलाई निर्माण पक्षले फिल्मको आक्रामक ओपनिङको संकेतका रूपमा लिएको छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारको पनि अभिनय छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्।