काठमाडौं । भदौ २६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल (U) सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्रसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएको छ।
२ घण्टा १४ मिनेट लामो फिल्मले व्यावसायिक प्रदर्शनका लागि स्वीकृति पाएपछि निर्माण पक्ष उत्साहित देखिएको छ।
अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत आफूले रोजेको खान्दानी परिवारको केटासँग जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक प्रभावलाई फिल्मको मुख्य विषय बनाइएको छ।
विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले फिल्ममा लगानी गरेका छन् भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्।
निर्माता उग्रसेनकै कथामा बनेको फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।
दिपेन बस्न्यातको छायाङ्कन र गौतम खड्काको सम्पादन रहेको फिल्मको टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्। रामजी लामिछानेको नृत्य निर्देशन तथा शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।
सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिन्छ।
नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्म वितरण गर्दैछन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।