नेपाली फिल्ममा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेकी अभिनेत्री प्रियना आचार्यका लागि ‘कार्की साईंला’ एउटा महत्वपूर्ण अवसरका रूपमा आएको छ। फिल्ममा उनले ‘निर्जला’ नामक बलियो र चुनौतीपूर्ण भूमिका निर्वाह गरेकी छन्। समाजबाट अपहेलित, अस्वीकार र जीवनका अनेकौँ संघर्षबाट गुज्रिएकी महिलाको चरित्रमा प्रियना प्रस्तुत भएकी छन्।
‘निर्जला’को चरित्र उनका लागि अभिनय क्षमता प्रमाणित गर्ने अवसर मात्र होइन, आगामी सिनेमिक यात्रालाई थप सहज बनाउने सम्भावनासमेत बोकेको छ। पर्दामा यो पात्रलाई उनले कत्तिको प्रभावशाली रूपमा प्रस्तुत गर्छिन् भन्ने कुराले उनको आगामी यात्रामा अर्थ राख्ने देखिन्छ। भूमिका अपेक्षाअनुसार स्थापित गर्न सके उनको पक्षमा सकारात्मक ढोका खुल्नेछ भने अपेक्षित प्रभाव पार्न नसके आगामी दिनमा अझै संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ।
फिल्मका लागि यसअघि पनि ‘निर्जला’को भूमिकामा अन्य अभिनेत्रीहरूको नाम चर्चामा आएको थियो। त्यसैले प्रियना आफैँ पनि आफूभन्दा अगाडि चर्चामा आएका नामसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तुलना हुन सक्ने चुनौती स्वीकार्छिन्। उनी भने आफूले पात्रलाई सक्दो न्याय गरेको र अब त्यसको मूल्यांकन दर्शककै हातमा रहेको बताउँछिन्।
राजेन्द्र बस्नेतको निर्देशनमा बनेको ‘कार्की साईंला’मा प्रियना आचार्यसँगै जितु नेपाल, सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहलगायतका कलाकारको अभिनय छ। गाउँले परिवेशमा एक भरियाको जीवन, उसको संघर्ष, सामाजिक व्यवहार र मानवीय संवेदनालाई केन्द्रमा राखिएको फिल्म असोज २ गतेदेखि प्रदर्शनमा आउँदैछ।
‘कार्की साईंला’ प्रियना आचार्यका लागि कस्तो मोड बन्नेछ? ‘निर्जला’ले उनलाई दर्शकको मनमा कत्तिको स्थापित गर्न सक्ला? प्रस्तुत छ, फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा प्रियना आचार्यसँग गरिएको कुराकानी।
अहिले ‘कार्की साईंला’लाई लिएर तपाईंको मनमा के खेलिरहेको छ?
म आशावादी छु। तर, त्यही भनिरहँदा नेपालमा यति ठूलो विपत्ति आइपरेको छ कि अहिले पीडित, विशेषगरी बाढीपीडितबाहेक अरू कुरा सोच्ने मनसायमा छैनौँ। अहिलेको प्राथमिकता नै उहाँहरूको दुःख र समस्याप्रति केन्द्रित हुनुपर्छ भन्ने लाग्छ।
तपाईंले निर्वाह गर्नुभएको ‘निर्जला’ पात्र कति बलियो छ? तपाईंले खोजेजस्तै भूमिका हो?
हो, डेफिनेटली। ‘निर्जला’ भन्ने पात्र समाजबाट अपहेलित र अस्वीकार गरिएकी महिला हो। उसको जीवनमा धेरै आरोह–अवरोह आउँछन्। उसले समाजसँग पनि लड्न खोज्छे र आफैँसँग पनि।
एक कलाकारका रूपमा यस्तो पात्र मेरो लागि चुनौतीपूर्ण थियो। मलाई लाग्छ, ‘निर्जला’ पात्रसँग धेरै नेपाली चेलीहरूले आफूलाई कुनै न कुनै रूपमा रिलेट गर्न सक्नुहुन्छ।
स्क्रिप्ट सुन्दा तपाईंलाई कस्तो प्रभाव परेको थियो? के देख्नुभयो, जसले गर्दा ‘यो फिल्म मैले गर्नुपर्छ’ भन्ने लाग्यो?
म स्क्रिप्टदेखि नै एकदमै कन्भिन्स थिएँ। यो एउटा साधारण भुइँमान्छेको कथा हो। एउटा भरियाको कथा हो, उसको जीवनका भोगाइ र संघर्षको कथा हो।
तर मलाई सबैभन्दा पहिले मेरो क्यारेक्टर मन परेको हो। ‘निर्जला’ भन्ने पात्र निकै मन पर्यो। स्क्रिप्ट राम्रो छ, तर मेरो लागि क्यारेक्टर सबैभन्दा महत्वपूर्ण थियो। यति बलियो क्यारेक्टर भयो भने म फिल्म गर्छु भन्ने हिसाबले नै म कन्भिन्स भएर यो फिल्म गरेकी हुँ।
आफूलाई नायिकाका रूपमा कत्तिको सक्षम छु जस्तो लाग्छ?
हामीले परीक्षा दिने हो, दर्शकले हामी पास भयौँ कि फेल भयौँ भनेर अंक दिने हो। त्यसैले एक कलाकारका रूपमा म आफूलाई निखार्न हरेक दिन प्रयास गरिरहेकी हुन्छु।
म कत्तिको पोख्त छु भन्ने कुरा म आफैँले निर्णय गर्ने होइन। त्यसको मूल्यांकन दर्शकले गर्ने हो।
‘निर्जला’ पात्र निर्वाह गर्दा यसको सजिलो र गाह्रो पक्ष के थियो?
‘निर्जला’ पात्रभित्र धेरै अन्तरद्वन्द्व छ। ऊ भित्रैदेखि एकदमै खोक्रो भइसकेकी छे। त्यससँगै उसको बाहिरी संसारसँगको युद्ध पनि छ।
उसको यात्रा एकदमै सजिलो छैन। समाजले विभिन्न व्यवहारमार्फत थिच्दै लगेकी एउटी अपहेलित नारी हो ऊ। एउटा यस्तो ठाउँमा पुगिसकेकी छे, जहाँ उसलाई जीवनप्रति कुनै आशा बाँकी छैन। उसका सबै आशा मरिसकेका छन्। बाँचूँ कि मरूँ भन्ने अवस्थामा पुगेको पात्र हो ‘निर्जला’।
एक कलाकारका रूपमा मैले त्यसलाई अभिव्यक्त गर्नुपर्थ्यो। ऊ धेरै बोल्ने पात्र होइन। उसको मुखभन्दा उसको मन धेरै बोल्छ।
यो फिल्मको महत्वपूर्ण पक्ष के हो?
महत्वपूर्ण पक्ष भनेको गाउँले परिवेशमा रहेको एउटा भुइँमान्छेको कथा हो। एउटा साधारण भरियाको जीवन र उसले भोग्ने संघर्षलाई फिल्मले प्रस्तुत गरेको छ।
दर्शकले यो फिल्म किन हेर्ने?
फिल्म मनोरञ्जनका लागि हेरिन्छ। तर, कति फिल्म दर्शकको मनमा बस्न सफल हुन्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ।
हाम्रो फिल्मले एउटा गाउँको परिवेश उठान गरेको छ। त्यहाँका सामाजिक विषयदेखि एउटा सानो भरियाको जीवनसम्मलाई हामीले प्रस्तुत गर्ने प्रयास गरेका छौँ। त्यसैले दर्शकले एउटा फरक कथा र पात्रको जीवनसँग जोडिन सक्नुहुन्छ भन्ने लाग्छ।
कथाको यो शैलीले दर्शकलाई सुरुदेखि अन्तिमसम्म बाँधेर राख्छ जस्तो लाग्छ?
जहाँसम्म मलाई लाग्छ, हामीले त्यसमा राम्रै काम गरेका छौँ। सुरुदेखि नै कथाले दर्शकलाई बाँधेर अगाडि बढाउँछ भन्ने मलाई लाग्छ।
यो फिल्मका तीनवटा मुख्य पक्ष भन्नुपर्दा के–के सम्झनुहुन्छ?
तीनवटा मुख्य पक्ष भन्नुपर्दा पहिलो स्क्रिप्ट हो। त्यसपछि फिल्मले उठाएको विषयवस्तु। र अर्को महत्वपूर्ण पक्ष कलाकारहरूको अभिनय हो।
यससँगै फिल्ममा एउटा बलियो संघर्ष पनि छ, जसले कथालाई अगाडि बढाउँछ।
फिल्म हेरिसकेपछि दर्शकमा कस्तो प्रभाव पर्ला?
मैले भनिसकेँ, यो एउटा भरियाको कथा हो। त्यसैले यसको प्रभावसँग धेरै दर्शकले कुनै न कुनै हिसाबले आफूलाई रिलेट गर्न सक्नुहुन्छ जस्तो लाग्छ।
उसले भोग्ने संघर्ष, पीडा र जीवनका परिस्थितिहरूले दर्शकलाई छुन्छ भन्ने मेरो विश्वास छ।
बाहिर चर्चा छ कि ‘निर्जला’ कुनै पनि कलाकारले आफ्नो अभिनय क्षमता र वर्किङ देखाउने हिसाबले निकै राम्रो भूमिका हो। तपाईंलाई पनि त्यस्तै लाग्छ?
हो, डेफिनेटली।
त्यसो भए यो भूमिकामा खरो उत्रिन सकिएला कि नसकिएला भन्ने डर छ?
डर त हुनु परिहाल्यो। कलाकारका रूपमा आफ्नो तर्फबाट बेस्ट दिने हो। तर आफूले आफ्नो बेस्ट दिँदादिँदै पनि त्यो प्रस्तुतिले दर्शकलाई नछुन सक्छ।
त्यो पाटो पनि हुन्छ। त्यसैले अहिले मेरो आशा भनेको बेस्टको लागि होपिङ गर्ने हो।
एक कलाकारका रूपमा तपाईंको बलियो र कमजोर पक्ष के हो?
मेरो प्लस पोइन्ट भनेको म एकदमै ढिपीवाला मान्छे हुँ। मलाई केही गर्नुपर्छ भनियो भने म गर्छु नै।
एक कलाकारका रूपमा पनि कुनै कुरा चित्त बुझेन भने म धेरै रिहर्सल गर्न मन पराउँछु। मेरो थिएटर ब्याकग्राउन्ड भएकाले पनि रिहर्सललाई म निकै महत्व दिन्छु। म एक किसिमको पर्फेक्सनिस्ट नै हुँ।
म खटिन पनि सक्छु जस्तो लाग्छ। सेटमा काम गर्दा मलाई एकदमै आनन्द आउँछ। वास्तवमा म सबैभन्दा खुसी हुने ठाउँ नै सेट हो।
घण्टौँसम्म काम गर्नुपरे पनि मलाई खासै फरक पर्दैन। सुटिङमा हुँदा म पूरै काममा डुब्छु।
तर मेरो कमजोर पक्ष भनेको म धेरै ओभरथिङ्क गर्छु। कतिपय कुरालाई आवश्यकताभन्दा बढी सोच्ने बानी छ।
कुनै पनि क्यारेक्टर निर्वाह गर्दा त्यसलाई आत्मसात् गर्न तपाईंले अपनाउने प्रक्रिया के हो?
एक कलाकारका लागि सबैभन्दा महत्वपूर्ण कुरा अब्जर्भेसन हो। कस्तो क्यारेक्टर बनाउने भन्ने कुरा केही हदसम्म कलाकारको हातमा पनि हुन्छ।
हामीले मानिसहरूलाई अब्जर्भ गर्छौँ, आफूलाई मन परेको पक्ष लिन्छौँ। फिल्म हेरेर पनि धेरै कुरा सिक्न र बुझ्न सकिन्छ।
तर मुख्य कुरा अब्जर्भेसन नै हो। त्यसपछि आवश्यकताअनुसार कन्सल्ट गर्ने, वर्कसपमा बस्ने र निर्देशकको भिजन बुझ्ने कुरा आउँछ। अन्ततः फिल्म भनेको निर्देशकको भिजन पनि हो, त्यसैले उहाँको सोचअनुसार पात्रलाई निर्माण गर्नु महत्वपूर्ण हुन्छ।
तपाईं यो फिल्ममा जोडिनुअघि ‘निर्जला’ पात्रका लागि अरू कलाकारहरूको नाम पनि चर्चामा आएको थियो। तपाईंले भूमिका गरिसकेपछि दर्शकले ‘निर्जलाका लागि प्रियना नै सही रहेछ’ भन्ने महसुस गरून् भन्ने चुनौती कत्तिको थियो?
त्यो कुरा त दर्शककै हातमा छ। पहिले यो चरित्रका लागि चर्चामा आएका नामहरूलाई दर्शकले सम्झनुहुन्छ होला। तर मेरो तर्फबाट भन्नुपर्दा मैले ‘निर्जला’ पात्रलाई न्याय गर्ने प्रयास गरेकी छु।
मैले आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेकी छैन। अब दर्शकले हेरेर मूल्यांकन गर्नुहुनेछ।
कहिलेकाहीँ कलाकारले कुनै पात्रलाई यति प्रभावशाली रूपमा निर्वाह गर्छ कि त्यसअघि त्यो पात्रका लागि चर्चामा आएका कलाकारको नामसमेत दर्शकले बिर्सिन्छन्। तपाईंले पनि त्यस्तो प्रभाव पार्न सकिएला भन्ने लाग्छ?
मलाई त्यस्तो तुलना गर्नुभन्दा आफ्नो कामप्रति इमानदार हुनु महत्वपूर्ण लाग्छ। मैले ‘निर्जला’ पात्रलाई जति बुझ्न सकेँ, त्यहीअनुसार आफ्नो उत्कृष्ट दिने प्रयास गरेकी छु।
अब त्यो पात्र दर्शकको मनमा कत्तिको बस्छ र उहाँहरूले कसरी मूल्यांकन गर्नुहुन्छ भन्ने कुरा फिल्म हेरेपछि मात्र थाहा हुन्छ।