‘चमेलीको पोइ’ को दोस्रो गीत ‘माया मान्छौ र..’ सार्वजनिक

0 Shares

काठमाडौं, २५ भदौ ।
निर्देशक एभरेष्ट सूर्य बोहराको प्रतीक्षित फिल्म ‘चमेलीको पोइ’ को दोस्रो गीत ‘माया मान्छौ र..’ बिहीबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।

आशिष अविरलको संगीत, एकनारायण भण्डारीको शब्द तथा मेलिना राई र आशिष अविरलको युगल गायन रहेको गीतमा सुरक्षा पन्त र मुकुन भुसाल फिचर्ड छन्। मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।

असोज १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्मको निर्माण रामनारायण उपाध्याय र सुनीता सापकोटाले गरेका हुन्। यसअघि सार्वजनिक फिल्मको शीर्ष गीत ‘ओइ ओइ चमेली’ ले दर्शकको ध्यान खिचिरहेका बेला निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो।

पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको ‘चमेलीको पोइ’ बाट करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी ‘प्रेमचरो’ ठूलो पर्दामा पुनरागमन गर्दैछन्।

फिल्ममा त्रिपाठीसँगै मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मीना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा र अनुष्का नारायणलगायतको अभिनय छ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई शेरबहादुर तामाङले खिचेका हुन्। उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेका छन्। सह–निर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदीपकुमार सापकोटा छन्।

धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन तथा बन्दे प्रसादको सम्पादन छ।

केही समयअघि अमेरिकामा आयोजित ‘चमेलीको पोइ’ को विशेष प्रदर्शनीमा सहभागी दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए। निर्देशक बोहराका अनुसार फिल्मले दर्शकलाई भरपूर मनोरञ्जनसँगै जीवनोपयोगी सन्देश पनि दिनेछ।

फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ।

सम्बन्धित समाचार

सबै