‘एलिफेन्ट इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनीत

0 Shares

काठमाडौं । अविनाश विक्रम शाह निर्देशित फिल्म ‘एलिफेन्ट इन द फग’ १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनीत भएको छ।

एसिया प्यासिफिक स्क्रिन एकेडेमीले ३२ देश तथा क्षेत्रका ३६ फिल्म समेटिएको मनोनयन सूची सार्वजनिक गरेको हो। जसअनुसार ‘एलिफेन्ट इन द फग’ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनीत भएको छ।

यस वर्षको अवार्डमा मनोनीत फिल्मका ६९ प्रतिशत निर्देशकले आफ्नो पहिलो वा दोस्रो फिचर फिल्म प्रस्तुत गरेका छन्। उत्कृष्ट फिल्म विधामा मनोनीत पाँचवटै फिल्म पहिलोपटक फिचर निर्देशन गर्ने निर्देशकका हुन्। त्यस्तै, उत्कृष्ट एनिमेटेड फिल्म विधाका सबै मनोनीत फिल्म पनि पहिलो वा दोस्रो फिचर निर्देशन गर्ने फिल्ममेकरका रहेका छन्।

यस वर्षको मनोनयन सूचीमा विभिन्न देशबीचको सहकार्य पनि उल्लेखनीय देखिएको छ। ‘एलिफेन्ट इन द फग’ नेपालसँगै जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको हो।

एसिया प्यासिफिक स्क्रिन अवार्डको समारोह अक्टोबर ३० मा अस्ट्रेलियामा आयोजना हुनेछ।

‘एलिफेन्ट इन द फग’ गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भइरहेको छ। समीक्षकबाट सकारात्मक प्रतिक्रिया र दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला फिल्मले अन्तर्राष्ट्रिय अवार्डमा तीन विधामा मनोनयन हासिल गरेको हो।

जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्ने फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायतको अभिनय छ।

निर्देशक शाहकै पटकथा रहेको फिल्मको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले लेखेका हुन्। फिल्म नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो।

फिल्मका नेपालतर्फका निर्माता अनुप पौडेल हुन्। फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता छन्।

सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्राजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन्।

चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको फिल्मका एसोसिएट निर्मातामा अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन्।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एसोसिएट निर्माता रहेका छन्।

सम्बन्धित समाचार

सबै