९९औँ अस्करमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ सिफारिस

0 Shares

काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ सिफारिस भएको छ ।

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर)को अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गर्दै नेपालबाट सिफारिस गरेको हो ।

९९औँ अस्करमा प्रतिस्पर्धाका लागि यस वर्ष दुई नेपाली कथानक फिल्मले आवेदन दिएका थिए । ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’मध्ये समितिले ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गरेको हो ।

समितिले जारी गरेको विज्ञप्तिमा प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई आधार बनाएर दुवै फिल्मको गहन अध्ययन तथा मूल्यांकनपछि ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई नेपालको तर्फबाट प्रतियोगीका रूपमा सिफारिस गरिएको उल्लेख छ ।

कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको ‘एलिफेन्ट्स इन द फग’ गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भइरहेको छ ।

जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्ने फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ र आकांक्षा कार्कीलगायतले अभिनय गरेका छन् ।

फिल्मका निर्देशक अविनास विक्रम शाह हुन् । पटकथा पनि शाहकै रहेको फिल्मको कथा अविनास विक्रम शाह र सन्दीप बादलले लेखेका हुन् । नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा फिल्म निर्माण गरिएको हो ।

फिल्मका निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स रहेका छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्राजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल छन् ।

चार्ल्स अडिनेट लाइन प्रोड्यूसर रहेको फिल्मका एसोसिएट निर्मातामा अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एसोसिएट निर्माता छन् ।

सम्बन्धित समाचार

सबै