‘बाकस’मा महेश त्रिपाठी मुख्य अभिनेताका रूपमा अनुबन्धित

0 Shares

काठमाडौँ — नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बाकस’मा महेश त्रिपाठी मुख्य अभिनेताका रूपमा अनुबन्धित भएका छन्। निर्माण टिमले आइतबार उनलाई औपचारिक रूपमा फिल्मका लागि अनुबन्ध गरेको हो।

महेशको प्रवेशसँगै फिल्मको मुख्य कलाकारको टोली थप बलियो बनेको छ। यसअघि अभिनेत्री बिपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।

सुजिता चौलागाईंले निर्माण गर्ने फिल्ममा छत्र बहादुर खड्का सहनिर्माता तथा धर्मेन्द्र पन्त कार्यकारी निर्माता रहेका छन्। फिल्मको संगीतमा दीपक शर्मा र सनम पुरुष राईले सहकार्य गर्नेछन्। गीतका शब्द दीपक शर्मा र निर्देशक नवीन पन्तले तयार पारेका छन्।

फिल्मका बाँकी कलाकार तथा प्राविधिक टोलीको टुङ्गो लगाउने काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

निर्देशक पन्तले भने, “अहिले कलाकार तथा प्राविधिकहरूसँग कुराकानी भइरहेको छ। करिब–करिब कुराकानी मिलिसकेको छ। टुङ्गो लाग्न मात्र बाँकी छ।”

पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘बाकस’ले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्मको पूर्वतयारी तीव्र रूपमा अघि बढिरहेको छ। निर्माण पक्षका अनुसार आउँदो दशैँलगत्तै फिल्मको छायांकन सुरु गर्ने योजना छ।

सम्बन्धित समाचार

सबै